भरतपुरमा विद्युत महसुल नतिर्ने २ सय ८१ ग्राहक कालोसूचीमा

No ads found for this position
No ads found for this position

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २ सय ८१ ग्राहकलाई कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो ।

विद्युत कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ ।

सुरुवातमा विद्युत महसुल वक्यौता धेरै भएका ग्राहकको लाइन काटिन्छ । लाइन काटेको ६ महिनासम्म पनि बिद्युतको महसुल नतिर्ने ग्राहकलाई कालोसुचिमा राख्ने गरिन्छ ।

लाइन काटीसकेपछि कालोसूचीमा परेका ग्राहकहरूले फेरि ग्राहक बन्नका लागि नयाँ ग्राहक सरह पुरानो पैसा तिरेर आवेदन दिई ग्राहक बन्न पाउने नियम रहेको प्रमुख चौधरीले बताए । यस्तै पछिल्लो समय नागरिकहरु सचेत हुँदै गएको हुँदा विगतका वर्षहरूमा भन्दा कालोसूचीमा पर्नेको संख्या घट्दै गएको उनले बताए । भरतपुर वितरण केन्द्रमा हालसम्म ७५ हजार ग्राहक रहेका छन्।

यसैगरी भरतपुर विद्युत कार्यालयमा सेवाप्रवाहलाई सहज बनाउन ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको छ । ग्राहकहरुको सहजताका लागि कार्यालयले ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको हो ।

बिद्युत कार्यलयका प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार पहिले सेवाग्राहीले एउटा कामका लागि विभिन्न टेबल र फाँट धाउनुपर्ने बाध्यता थियो। कुन फाँटमा जाने, कुन नम्बरमा पुग्ने भन्ने अन्योलका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था अहिले हटाइएको उनले बताए ।

प्रमुख चौधरीले अहिले एकद्वार प्रणाली लागू भएपछि एउटै स्थानबाट आवश्यक जानकारी र सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै काम छिटो र व्यवस्थित रूपमा सम्पन्न हुन थालेको उनले उल्लेख गरे ।

उनले सेवामैत्री वातावरण निर्माण गर्दै नागरिकलाई सरल, छिटो र प्रभावकारी सेवा दिन विभिन्न सुधारका काम अघि बढाइएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *