सरकारले नागरिकलाई आतङ्कित बनाउने गतिविधि तत्काल बन्द गरोस्: मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुमवासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतङ्कित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुमवासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे ।
उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुमवासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए । ‘लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,’ उनले भने, ‘जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन् ।’
मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुमवासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे ।
उनले झन्डै दुई तिहाइ बहुमत सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नु पर्ने बताए । रास्वपाले आफ्नो वाचा पत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै मुख्यमन्त्री कँडेलले आगामी बजेटमा यसअघि प्रदेश सरकारले संघीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे ।


