तरकारीमा ९५ प्रतिशतसम्म विषादी भेटिएपछि कडाइ

No ads found for this position
No ads found for this position

सुर्खेत । वीरेन्द्रनगरमा अत्यधिक विषादी प्रयोग गरिएका तरकारीहरू भित्रिएपछि नगरपालिकाले तरकारी परीक्षणमा कडाइ गरेको छ । दिनहुँ नगरपालिकामा विषादी प्रयोग गरिएका तरकारी सहजै कर्णालीवासीको भान्सामा पुग्ने गरेका छन् ।

वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लामा पनि तरकारी निर्यात हुने भएकाले यसले नागरिकहरूको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले परीक्षणलाई तीव्रता दिएको छ ।

वीरेन्द्रनगरमा भित्रिएका तरकारीहरूमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ । दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएपछि यसले सरोकारवाललाई चिन्तित बनाएको छ । यो मात्राको विषादी छुँदा पनि स्वास्थ्यमा असर पर्न सक्ने कृषि प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीले बताए  ‘काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको सिंधै विष सेवन गर्नु सरह हो,’ उनले भने ।

बर्दियाबाट ल्याइएको टमाटरमा ५४ प्रतिशत र सुर्खेत जिल्लाबाटै कृषि बजारमा भित्रिएको काउलीमा ४६ प्रतिशत विषादी फेला परेको छ । ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारीलाई खानै नमिल्ने सूचीमा राखेर नष्ट गर्नुपर्ने कृषि विज्ञहरूको भनाई छ । विषादी छरेको केही दिनमै बजार पुग्ने यस्ता तरकारीले मानव स्वास्थ्यमा मन्द विषको काम गरिरहेको छ ।

विशेष गरी अर्गानोफस्फेट विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता र मिर्गौलामा गम्भीर असर पुर्याउँछ । दीर्घकालीन रूपमा यसले क्यान्सर जस्तो असाध्य रोग निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन् । वीरेन्द्रनगर नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्दै आएको छ । एक हप्तामा ५० भन्दा बढी नमुना परीक्षण गर्दा अधिकांशमा विषादीको मात्रा नाघेको धामीले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *