खुल्ने बित्तिकै बन्द गरियो बिपी राजमार्ग

No ads found for this position
No ads found for this position

रामेछाप । रोशी खोलामा बाढी आए पछि आज बिहानबाट बन्द गरिएको बिपी राजमार्ग दिउँसो केही समयको लागि खुल्ला गरिएको थियो । तर राजमार्ग खुल्ला गरिएको एक घण्टा पनि बित्न नपाउँदै प्रहरीले पुनः सडक बन्द गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भएकोले राजमार्ग बन्द गरिएको जनाएको छ । प्रहरीले ४:१५ बजे सूचना निकालेर सडक बन्द गरेको जानकारी दिएको हो । यस अघि बिहादेखि बन्द भएको सडक दिउँसो ३ बजेबाट खोलिएको प्रहरीले जानकारी दिएको थियो ।

प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा अत्यधिक ठुलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।

मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ । थप जानकारी तथा सूचनाको लागि १०० र १०३ मा सम्पर्क गर्न काभ्रे प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

गत वर्ष र अघिल्लो वर्ष रोशीमा आएको बाढीले सो क्षेत्रमा बिपी राजमार्ग अधिकांश स्थानमा बगाएको छ । सडक बगाए पछि अहिले खालमा नै अस्थायी सडक बनाएर यातायात सञ्चालन हुँदै आएको छ । त्यसैले सामान्य बाढी आउने बित्तिकै सडक बगाउने गर्दछ । सडक निर्माणको काम भइरहेको भए पनि यही गतिमा निर्माण अघि बढ्दा यो वर्षामा सो सडक सञ्चालन हुने अवस्था छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *