नेपालमा बर्डफ्लुले उग्र रूप लिँदै, १ लाख ३० हजार बढी पंक्षी नष्ट गरियो
काठमाडौं । नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ ।
यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो, जुन अहिले अन्य प्रमुख पोल्ट्री क्षेत्रहरूमा समेत विस्तार भएको छ ।
हालसम्मको तथ्याङ्क अनुसार देशका कुल ३३ वटा पोल्ट्री फार्महरूमा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमण थप फैलिन नदिन र नियन्त्रण गर्नका लागि सरकारले हालसम्म देशभर कुल १ लाख ३० हजार ९ सय १२ वटा पंक्षी नष्ट गरिसकेको छ ।
पंक्षीका साथै २ लाख ३७ हजार ५ सय ६२ वटा अण्डा र ३३ हजार ४ सय ४५ केजी दाना समेत सुरक्षाका साथ खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
जिल्लागत रूपमा हेर्दा सुनसरीमा सबैभन्दा बढी १७ वटा फार्म प्रभावित भएका छन् भने पक्षी नष्ट गरिएको संख्याका आधारमा मोरङ जिल्ला सबैभन्दा बढी मारमा परेको छ, जहाँ १० वटा फार्मका ५३ हजार ७ सय २१ पक्षी मारिएका छन् ।
संक्रमण फैलिएका अन्य जिल्लाहरूमा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन् । चितवनको एउटै फार्ममा १८ हजार ८६३ पक्षी नष्ट गरिएको छ भने झापाका ३ फार्ममा १५ हजार ३९० पक्षी मारिएका छन् ।
त्यसैगरी बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ वटा पक्षी नष्ट गरिएको छ । रोगलाई अन्य जिल्लाहरूमा फैलिन नदिन सरकारका तीनै तहका सरकारबीच समन्वय गरी सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणका उपायहरू अपनाइएको छ । संक्रमण देखिएको क्षेत्रलाई सिल गरी स्रोतमै रोग नियन्त्रण गर्ने र आवश्यक हस्तक्षेपकारी कदमहरू चालिएको सम्बन्धित निकायले जनाएको छ ।


