नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्त्वपूर्ण हुन्छ ।
सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताए । उनीहरू विलासिता मात्र नभइ, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताए । यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उनको भनाइ छ । सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तिब्र रूपमा विस्तार भइरहेको र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याए ।
पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उनको भनाइ छ । उनले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी आवश्यक रहेको बताए ।
उनले भने,‘आज विश्व अनेक चुनौतीहरूले घेरिएको छ । कतै द्वन्द्व छ भने कतै जलवायु परिवर्तनले विकराल अवस्था सिर्जना गरेको छ । मानसिक तनाव बढ्दो छ, जीवनशैली सन्तुलित छैन र तिब्र शहरीकरणका असरहरूले मानिसको दैनिकी नै प्रभावित बनाएको छ । यस्तो अवस्थामा आरोग्यलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु मानवताको लागि आशाको किरण हो । नेपालको सभ्यता, संस्कृति र परम्परा आफैँमा आरोग्यका उत्कृष्ट उदाहरण हुन् । हजारौँ वर्षदेखि हामीले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र प्रकृतिसँगको सहअस्तित्वलाई जीवनको आधार बनाएका छौँ । हिमालयको काखमा अवस्थित हाम्रो मुलुक केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि विशिष्ट छ । सगरमाथाको शिखरले हामीलाई उचाइको प्रेरणा दिन्छ, लुम्बिनीले शान्ति र करुणाको सन्देश दिन्छ, पशुपतिनाथले आध्यात्मिक ऊर्जा प्रदान गर्छ र हाम्रो गाउँबस्तीको सरल जीवनशैलीले सन्तुलित जीवन जिउन सिकाउँछ । हाम्रा हिमालहरू केवल हिउँले भरिएका चट्टान मात्र होइनन्, हाम्रा हिमालहरू ध्यान, शान्ति र आत्मानुभूतिका प्रतीक हुन् । यहाँको शीतल हावा, निर्मल पानी, हरियालीले भरिएका वन, जैविक खाद्य प्रणाली र सांस्कृतिक विविधताले मानव जीवनलाई सन्तुलित बनाउने अद्वितीय वातावरण सिर्जना गर्छन् । हाम्रा गाउँमा रहेको सहकार्यको भावना, परम्परागत ज्ञान र प्रकृतिप्रतिको सम्मान यी सबै आरोग्यका जीवन्त अभ्यास हुन् । आयुर्वेदले शरीर र मनको सन्तुलन सिकाउँछ, योगले आत्मा र चेतनालाई जोड्छ भने ध्यानले मनलाई शान्त बनाउँछ। ’
नेपाल सरकारको प्रश्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई आरोग्य दिवसको रुपमा मान्यता दिनु ऐतिहासिक उपलब्धि भएको बताए ।
यो दिवस केवल घोषणा मात्र नभई मानव जीवनलाई पुनःसन्तुलित बनाउने, प्रकृतिसँग जोड्ने र आत्मिक शान्तितर्फ फर्कने एउटा गौरवमय क्षण भएको बताए ।
नेपालको सभ्यता, संस्कृति र परम्परा आफैमा आरोग्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै सभामुखले हजारौँ वर्षदेखि योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सह-अस्तित्वलाई नेपालीले जीवनको आधार बनाएको बताए ।


