प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको खुला पत्र: फेरी यस्तो गल्ति नगर्नुहोस्

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई खुला पत्र लेखेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्ति भागवण्डा नगर्न भन्दै प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको बारे ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक सञ्जालमा लेखेका छन्-

सम्माननीय प्रधानमन्त्रीज्यू,

स्वीकार्नै पर्छ, हाम्रै व्यवस्थापकीय कमजोरीका कारण हाम्रा विश्वविद्यालय दलीयकरणको दुष्चक्रमा फसेर थला परेका हुन् । त्यो कमजोरी सच्याउने जिम्मेवारी हाम्रै हो । यही सोंचका साथ केही समयदेखि विश्वविद्यालयलाई दलीयकरणको दलदलबाट निकाल्न प्रयास गर्दै आएका छौं ।

यसका निम्ति हालका कानून बदल्नुपर्छ, भन्नेमा प्रष्ट छौं, सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धि विधेयकमा संसदमा काम गर्नु पर्ने छ, गर्ने नै हो । तर, ती कानून बन्नुभन्दा अगाडि विश्वविद्यालयहरूमा जति पनि नियुक्ति हुन्छन दलीय भागबण्डाबाट मुक्त भएर गरियोस् भन्ने कुरामा हाम्रो प्रयास निरन्तर छ ।

यसपटक त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया बदल्न हामीले गरेको वकालत र प्रयासमा तपाईं अनविज्ञ हुनुहुन्न ।

यद्यपि त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रिया जुन ढङ्गले गरियो त्यसमा हाम्रो प्रश्न नै रह्यो । तर, अहिले त्रिविका उपकुलपति स्वयंले दलीय प्रभावबाट अलग रहेर प्रचलित कानून बमोजिम रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको देख्दा केही आशा पलाएको थियो । तर, त्यो प्रयासलाई पनि तपाईंले रोक्नुभयो भन्ने खबर छ ।

प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरी यस्तो गल्ति नगर्नुहोस् । यो गल्ति सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबण्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन कुलपतिको हैसियतले सहजिकरण गर्नुहोस् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *