भीर र खोँचमा फसेका पर्यटकको उद्धार गर्न उत्साहित नेपाली चेलीहरू

No ads found for this position
No ads found for this position

काठमाडौं- सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरूलाई रेस्क्यू सम्बन्धी तालिम प्रदान गरिएको  छ ।

सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरूलाई ७ दिने रेस्क्यू तालिम प्रदान गरेको हो ।

माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामवावु शेर्पाले जानकारी दिए ।

नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिम  काठमाडौंको जकडोल जङ्गलमा चैत ७ गतेबाट सुरु भएर मंगलबार सम्पन्न भएको छ ।

पदयात्रा र आरोहणका क्रममा पर्यटकहरूको मृत्यु हुनेको संख्या वार्षिक रूपमा बढ्दै गएकाले नियन्त्रणका लागि यो तालिम फलदायी हुने भएकाले तालिम आयोजना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् । सीप र दक्षता विनाको जनशक्तिले पर्यटन क्षेत्रमै नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उनले बताइन् ।

उद्धार सम्बन्धी २५ जना महिला गाइड सहभागी रहेको यो तालिम पहिलो पटक आयोजना गरिएको बताउँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिं ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए ।

सरकारले राखेको पर्यटन दशक २०२३/२०३३ को उद्देश्य पुरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नु पर्ने आवश्यकता भएको उनले बताए ।

भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रूपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुर्‍याउने सक्ने गरी तालिममा अभ्यास गराइएको प्रशिक्षकहरूले बताए ।

ट्रेकिङ गाइड र आरोहीहरू मात्र सहभागिता गराइएको तालिमले सहभागीहरूलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्‍याउने आयोजकले बताएको छ । नेपालमा हालसम्म दावा याङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएकी थिइन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *