होलीको क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु, १८ जना पक्राउ
काठमाडौं- ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच आइतबार राति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय पूजन राई र रोबस राई छन्।
दुई पक्षबीच भएको झडपका क्रममा छुरा प्रहार हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीले खबर पाएको थियो। खबरपछि प्रहरीले राति नै १८ जनालाई पक्राउ गरेको छ। प्रहरीले राति नै सीसीटीभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो।
छुरा प्रहारबाट एक जनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ।
उनीहरूबीच के विषयमा झडप भएको भन्ने अहिलेसम्म खुल्न नसकेको र नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
मृतक पूजन पाँचथर घर भई खुमलटार बस्ने र रोबस धरान घर भई ढोलाइटी बस्दै आएको प्रहरीले जनाएको छ।