केपी ओलीले अभिनय गर्ने चलचित्र “नमेटिने घाउ” को छायांकन तिब्र गतिमा

No ads found for this position
No ads found for this position

काठमाडौँ – तेजाब आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ को छायांकन वीरगञ्जमा तिब्र गतिमा भइरहेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अभिनय गर्ने भनिएको चलचित्रलाई अभिनेता रमित ढुंगानाले निर्माण तथा निर्देशन गरीरहेको यस चलचित्रको टोली छायांकनका लागि वीरगञ्ज पुगेको छ ।

१४ माघमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा निर्माणको घोषणा भएको चलचित्र ‘नमेटिने घाउ’ को छायांकन १४ फागुनमा पोखरादेखि सुरु भएको हो । पोखराको छायांकन सकेर बुधवार वीरगञ्ज आइपुगेको कलाकारसहितको ५० जनाको टोलीले बिहिवारदेखि वीरगञ्जको छायांकन सुरु गरेको चलचित्रका निर्माण नियन्त्रक भोला सुबेदी (आर.जे.प्रणब) ले जानकारी दिए । उनकाअनुसार करिब एक सातासम्म वीरगञ्जको छायांकन सक्ने योजनाअनुरुप काम भइरहेको छ ।

बिहिवार वीरगञ्जको रेल्वे स्कुलस्थित छायांकनस्थलमा मुस्कान खातुन आफै दौडधुप गरीरहेकी थिइन् । उनले आफ्नो पात्रको भूमिका निर्वाह गर्ने रचना गौतमलाई आफ्नो स्वभाव, आनीबानी तथा घटनाको प्रसँगबारे प्रकाश पार्दै थिइन् ।

शिवम अधिकारीको पटकथा तथा संवाद रहेको चलचित्रमा ५ जना तेजाब आक्रमणमा परेकाहरुको कथालाई समावेश गरिएको छ । पछिल्लो १० वर्षको प्राप्त तथ्यांकअनुसार ३३ जनामाथि तेजाब (एसिड) आक्रमण भएको पाइएको यसै फिल्मका सहायक निर्देशक अखिल बजगाईले बताए ।

जथाभावि रुपमा सहजै पाइने एसिडलाई प्रतिबन्ध गर्नुपर्ने र अतिआवश्यक परेको खण्डमा सम्बन्धीत निकायको अनुमतिमा मात्रै पाइने प्रावधान गराउने चलचित्रको उद्देश्य रहेको निर्देशक एवम् निर्माण रमित ढुंगानाले यात्रा डेलीलाई बताए । उनले भने, ‘एसिड आक्रमणमा परेकाहरुलाई प्रोत्साहन गर्न र ऊर्जा थप्न पनि यस चलचित्रले सघाउ पुग्छ भन्ने हाम्रो उद्देश्य छ । हामीले छोरीहरुलाई आत्मरक्षा गर्न र तेजाब आक्रमण जस्तो अपराधिक गतिविधिमा संलग्न हुँदा भोग्नुपर्ने सजाय तथा यसका कानुनी प्रावधानका बारेमा पनि समाजलाई अवगत गराउने योजना बनाएका छौँ ।’

निरज कँडेलले छायांकन गरीरहेको चलचित्र नमेटिने घाउको वीरगञ्जको काम सकिए लगत्तै रौतहटको चपुरमा जाने निर्माण पक्षको योजना छ । रमित ढुंगाना फिल्म प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माणाधिन चलचित्रको छायांकन वीरगञ्ज, चपुरसँगै काठमाण्डौ, भक्तपुर, काभ्रे, पोखरा, नवलपरासी लगायतका ठाउँमा हुनेछ ।

सम्पादन समिर मियाँले गर्ने चलचित्रमा गायक तथा संगीतकार ओम सुनारको संगीत रहेको छ । करिब ३ करोडको लगानीमा बन्ने चलचित्रमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सुरवीर पण्डित, रचना गौतम, रामचन्द्र अधिकारी, सिम्रन खड्का, प्रभात ठकुरी लगायतको अभिनय हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *