दाजु भेट्न गएका भाइ २२ वर्ष देखि बेपत्ता, खोजिदिन ८५ वर्षीय आमाको अपिल

'कतिपयले छोरालाई माओवादीले बाटैमा मारिसक्यो भन्छन्'

No ads found for this position
No ads found for this position

महोत्तरी- रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।

आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको अझै ताजा छ ।

युद्धकालीन उक्त समयमा दुर्गाकुमारीले परै वाट रेडियोमा आर्मी र माओवादीबिच भिडन्त भएको र मानिसहरू मरिरहेको सुनिन । समाचार सकिसकेपछि रामबाबु नजिकै आएर भने, ”आमा, म ठुलो दाजुलाई भेट्न लमजुङ जान्छु ।”

रामबाबु केही दिन अगाडि मात्र काठमाण्डौंबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यति वेला गाउँमा युवाहरू कोही पनि थिएनन् । भएका युवाहरू कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जङ्गल लगेको थियो । थोरै युवाहरूले मात्र आर्मी, प्रहरीमा जागिर खाएका थिए । त्यीपनै रामबाबुले जेठो दाजुलाई भेट्न बेसीशहर जान जिद्दी गर्न थाले ।

त्यति टाढा उक्त भयावह अवस्थामा २२ वर्षीय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकुल वातावरणका बाबजुद पनि दाजु गोविन्द कार्कीलाई भेट आमाबुवासँग बिदाइ भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आएको समाचार थाहा पाए पछि प्रतीक्षामा रहेका दाजुले भाइलाई न त भेट्न पाए, न त घर फर्किएर नै गए ।

लमजुङको बेसिसहर दाजुलाई भेट्न गएका भाइ रामबाबु २२ बर्सदेखि घर फर्किएका छैनन् । उनी कहाँ छन् ?, कसरी हराए ? मरेका होलान् कि बाँचेका होलान् ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ ।

अझ ८४ वर्षीय आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन् । ”बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,” गहभरी आँसु बनाउँदै दुर्गा कुमारीले भनिन, ”मरेको प्रमाणित भए बरु किरिया गर्थे ।”

रामबाबुका दुई दाजुहरू छन् । माइलो दाजु मोहन कार्की नेपाल आर्मीबाट रिटायर भएका हुन् भने जेठा दाजु गोविन्द कार्की बिद्युत प्राधिकरणवाट रिटायर हुन् ।

दाजुहरूको जागिर कै कारणले रामबाबुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्ययन गर्दै गरेका रामबाबुको विषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन् ।

दुर्गा कुमारीले बेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरूलाई हारगुहार पनि नगरेकी हैनन् तर कँहीं कतैबाट सुनुवाइ नभएपछि छोरा फर्कने आशा आजकाल उनको झिनो बन्दै गएको छ ।

”आजकाल मोबाइलमा मान्छेहरू धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,” दुर्गा कुमारीले भनिन, ”अब अन्तिम आशा तपाईँहरू नै हो ।”

कतिपयले आफ्न्तहरुले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् तर दुर्गा कुमारीलाई भने अहिलेपनी छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।

रामबाबुका बुबा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतीले भनेजस्तै छोरा ज्युँदै नै छन् भन्ने लाग्छ । ”कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आओस्,’ उनले भनिन् ।

लमजुङ्गमा अझ सरकारी र विद्रोही पक्षको वेला-वेलामा झडप भइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यति वेला कयौँ मानिसहरू मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशङ्का गर्छन् ।

परिवारलाई भने पत्यार नै लाग्दैन । ”मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,” दुर्गा कुमारीले भनिन, ”अब भरोसा बाबुहरूको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।”

दुर्गा कुमारी आजकाल पहिला जसरी हिँडडुल पनि गर्न सक्दिनन् । लौरोको सहाराले यताउता हिड्ने उनीलाई मात्र हैन उनको श्रीमान् डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।

भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी नगरेका हैनन् । सङ्क्रमणकालीन अवस्थामा उनले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाइको यकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाइको विषयमा कसैले यकिन विश्वास दिलाउन सकेनन् ।

बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबन्डा पनि गरेकी छैनन् । ”जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन् तर म मानेकी छैन,” उनले भनिन, ”कमसेकम यकिन त हुनुपर्थ्यो नि मरेको र बाँचेको ।’

सङ्क्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा बेपत्ता भएकाहरूको नाम समेत सूचीकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामबाबु जस्ता बेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको बेपत्ता पारिएका छानबिन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरू सत्य निरूपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पटाइएकोमा १३७ उजुरीहरू फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागत कट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोग वाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरूको कारबाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गरिएको विवरणमा जनाएको छ ।

मधेस प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनको लागी १५३, प्रारम्भिक छानबिनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर सूचनाको पहुँच तथा सरोकारवालाहरूको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको बेपत्ता रामबाबुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *