बेलायती गोर्खा सेनामा नेपालबाट यस वर्ष ३ सय ३६ जना भर्ना

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ ।

गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो ।

उक्त शिष्टाचार भेटका क्रममा मुख्यमन्त्री कार्कीले पूर्व ब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराएका थिए । वर्षेनी नेपालबाट कति जना गोर्खा सेनामा भर्ति भइरहेको मुख्यमन्त्रीको जिज्ञासामा कर्णेल कमाण्डेन्ट रिचार्डले यस वर्ष ३३६ जना भर्ना भएर गएको जानकारी गराएका थिए ।

गोर्खा वेलफेयर ट्रष्टले नेपालमा गरिरहेको कामको बारेमा मुख्यमन्त्री कार्कीले राखेको जिज्ञासामा रिचार्डले सुरुमा धरानमा पूर्व गोर्खा सेनाका लागि मात्रै गर्दै आएको कामलाई विस्तार गरी आम नेपालीका लागि सुरु गरेको जानकारी गराएका थिए ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले गोर्खा सेनाहरुको थलो धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट २ दशमलव ५ किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा डीपीआरका लागि २ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

उनले सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघाावाट विद्युत उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरेका हुन् ।

‘पूर्व गोर्खालगायतका गोर्खा सेनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘गोर्खा भिलेजको घर ब्रिटिस मोडलमा निर्माणा गर्ने भएकाले प्राविधिक लगायतको सहयोग गर्न आग्रह छ ।’

भेटको क्रममा रिचार्डले संघीयता कार्यान्वयन र हिन्दुत्वको बढ्दो प्रभाव र धार्मिक सहिष्णुताको बारेमा जिज्ञासा राखेका थिए । ‘गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएकोले यसलाई निरन्तर अघि बढाइ रहन पनि गोर्खाको भूमिका अहम् छ,’ उनले भने, ‘गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य शाहसले बेलायतको समग्र सुरक्षामा अहम योगदान पुर्‍याएको छ ।’

गोर्खा ब्रिगेड टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री र प्रधानसेपतिलाई भेटेर पोखरामा परेड खेलेपछि फर्किने छन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्