नेपाली सेनाको १९ बिघा जग्गा विमानस्थललाई दिइनेछ: कार्यबहाक प्रधानमन्त्री

No ads found for this position
No ads found for this position

भरतपुर- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गरेका छन् ।

सो अवसरमा मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।

‘भरतपुर विमानस्थल विस्तारका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि उपलब्ध गराउनुपर्ने देखिन्छ,’, उनले भने, ‘नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नु पर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको छ ।’

यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।

राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा समेत संयुक्त राष्ट्र सङ्घको झण्डा मुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताए ।

नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शिर उँचो बनाएको भन्दै उनले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणहरूको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका छन् ।

‘नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्र सेवकहरूको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमकिता दिएको छ, आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्थाहरू गर्दै लगिनेछ,’ उनले भने ।

नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्य सम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उनले जनाएका छन । ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

‘मेरो नेपाल मेरो स्वर्ग’ भन्ने आदर्श वाक्य बोकेको श्री नयाँ सबुज गणमा खासगरी तराई÷मधेसमा बसोबास गर्ने नागरिकहरूको प्रतिनिधित्व हुने गरी नेपाली सेनाका विभिन्न विभाग, कार्यालय, महानिर्देशनालय, निर्देशनालय, पृतना, वाहिनी युनिटरसब युनिटलगायत ११७ स्थानबाट विभिन्न दर्जाका सैनिक व्यक्तिहरु सम्मिलित गराई यो नयाँ गण २०६३ साल असार २८ मा महोत्तरीको पकौलीमा स्थापना भएको हो ।

यो गण ओखलढुङ्गा, हेटौँडा, सुर्खेत लगायतका जिल्लाहरू हुँदै गत वैशाख १५ गतेदेखि चितवनको भरतपुर व्यारेकमा तैनाथ छ। तराई र मधेसमा बसोबास गर्ने समुदायको विशेष प्रतिनिधित्व र बाहुल्य भएको यस गणमा करिव ८० प्रतिशत तराई र मधेस मूलका विभिन्न दर्जाका सैनिकहरू कार्यरत रहेको भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको कार्यबहाक प्रधानमन्त्री खडकाले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *