प्रधानमन्त्रीज्यू, फागुनसम्ममा प्रदेशले अधिकार नपाए सिंहदरबार घेर्छौं: महामन्त्री शर्मा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई फागुनसम्ममा अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले चेतावनी दिए।

शर्माले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याईं नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे।

शनिबार नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै उनले हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको बताए ।

शर्माले भने, ‘सबै प्रदेश सम्मेलनमा जाँदा एउटै गुनासो के छ, प्रदेश बन्यो तर अधिकार दिइएन। प्रधानमन्त्रीज्यू, मागेको के हो ? युरिनियम निकालेर हामीलाई देउ भनेर मागेको हो ? हिरा मोतीको खानी मागेको हो ? होइन, अन्तरिक्ष यान बनाएर हाम्रो हातमा देउ भनेको हो ? होइन। अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो। कानुन मागेको हो। अधिकार मागेको हो।’

जनताले मागेको प्रदेशलाई अधिकारको कुरा दिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न गर्दै उनले चेतावनी दिए, ‘त्यो दिन सकिन्छ की सकिँदैन? यदि सकिँदैन भने आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *