काठमाडौंमा सुर्तीजन्य पदार्थको प्रतिबन्ध गराउन सादा पोसाकमा खटिए नगर प्रहरी

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ।

अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न पााइने छैन।

काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थमा लगाइएको प्रतिबन्धनबारे जानकारी दिएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नविन मानन्धरले जस्तोसुकै तरिकाले प्याक गरिएको भए पनि कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको बताए।

मानन्धरको भनाइ थियो, ‘प्लास्टिकमा प्याकिङ गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गर्नुभयो। तर त्यसो होइन। सुर्तीजन्य वस्तु प्लास्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो। प्लास्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लास्टिक प्याकिङको कुरा जोडिएको हो। कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको हो।’

महानगरपालिकाले मंसिर १२ गते नै १५ दिने अवधि दिएर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाइने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको थियो। अब भने महानगरपालिकाले प्रतिबन्धको कार्यान्वयनको अवस्थाबारे अनुगमन सुरु गर्ने छ।

महनगरपालिकाले बिहीबारदेखि नै अनुगमन गर्ने प्रवक्ता मानन्धर बताउँछन्। त्यसका लागि १० जनाको समूहमा नगर प्रहरीका ५ वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन्।

पसलहरुमा सुर्तीजन्य पादर्थ भण्डारण वा बिक्री गरेको पाइए पहिलो र दोस्रोपटक जफत गरिनेछ। तेस्रो पटक पनि भण्डारण वा बिक्री गरेको पाइए पसल नै बन्द गराइने प्रवक्ता मानन्धरले जानकारी दिए।

प्रवक्ता मानन्धरले भने, ‘अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुनेछ।’

महानगरपालिकाले धुम्रपान (चुरोट) पनि खुला रुपमा बिक्री गर्न नपाइने बताएको छ। सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए नगर प्रहरीले १०० रुपैयाँसम्म जरिवाना गर्नेछ। यस्तै, उमेर नपुगेकाहरुलाई चुरोट बेच्न नपाइने महानगरपालिकाले जनाएको छ।

सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ को व्यवस्थाअनुसार कारबाही हुने महानगरले जनाएको छ।

उक्त ऐनमा सार्वजनिक स्थलमा धूम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर बिक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्ने सम्मको कारबाही गर्न सकिने व्यवस्था छ।

सुर्तीजन्य वस्तुको भण्डारण, बेचबिखन, प्रयोग सम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बरहरु ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा खबर गरेर प्रहरी बल परिचालन हुने व्यवस्था गरिएको छ।

काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *