राष्ट्रपतिबाट कैद मिनाहा पाएका बिकले गरे महिलाको हत्या

No ads found for this position
No ads found for this position

सुर्खेत- राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

बिकले मुसीकोट नगरपालिका-७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी बिकले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले बिकलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

बिक गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै बिकले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका -१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्-श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुबै जना २९ गते बिहान १० बजेवाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । बिकले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ ।

मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमति हाल बैदशिक रोजगारीमा रहेको बताईन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिबादीको मोबाईल समेत बरामद गरेको छ ।

प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १२४ पटक दुई जना बिचमा मोबाईलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।

मृतक भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिईन् । सानीभेरी ९ सिम्लीमा रहेको हत्या आरोपी बिकको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए । प्रहरीका अनुसार त्यतिबेलै देखि दुबैजना नजिक भएर अनैतिक सम्बन्धमा गाँसिएको पाईन्छ ।

हत्या आरोपी बिकले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाईएका बिक २०७९ फागुन १४ गते कैद परेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए ।

२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने बिकलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकि कैद मिनाहा गरिएको थियो ।

कैदभुक्तान गर्न ३ महिना २३ दिन बाँकि रहँदै कैदमुक्त भएका बिकले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् । प्रहरीले बिक बिरुद्ध कर्तव्य ज्यान मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *