हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु, इजरायलबाट फर्किन चाहनेलाई सरकारले उद्धार गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि यसबारे दूतावासले औपचारिक जानकारी गराएको छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी- ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया- ३ का आशीष चौधरी, दार्चुला लेकमा- ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा- २ का विधान सेजवाल, दाङ दङ्गिशरण-३ का प्रवीण डाँगी, कैलाली टीकापुर- ९ का धनबहादुर चौधरी, गोरखा- ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त- ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी- १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती- ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।

१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मद्य्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए ।

प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) का रहेको बताइएको छ ।

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।

इजरायलबाट फर्किन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने

सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आइतबार राति जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।’

तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उनीहरुमार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ। यसैगरी १० जना मृतकको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *