अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड सिधै चीन भ्रमणमा, यस्तो छ कार्यक्रम

No ads found for this position
No ads found for this position

बेइजिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज चीन आइपुगेका छन् ।

चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट चीन आएका हुन् । प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री नाराणप्रकाश साउद र अन्य सदस्यहरु पनि छन् ।

प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नेछनु । उनिहरु बीच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने छन् । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्न्छन् ।

सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहलले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ ।

सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आएका छन् ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *