शहीदहरुको रगतको तागतले ३२ सिट भएपनि प्रधानमन्त्री बने : प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताए ।

शनिवार काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गरे । आफूले प्रधानमन्त्रीमा करिव शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरुको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार बिरोधी अभियान चलाउनु परेको स्पष्ट पारे । उनले प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार बिरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको आरोप समेत लगाए ।

दाहालले भने, ‘हिजो परास्त भएका तत्वहरु फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो संख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन । तपाईं-हामी सबैलाई थाहा भएकै कुरा हो । ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन ९० सिट र ८० सिट भएका पार्टीहरुको अगाडि । सजिलो कुरा त होइन यो । तपाईहरुले बुझिराख्नुभएकै होला । हाम्रो इतिहासको तागत, हाम्रा शहीदहरुले बगाएको रगतको तागत, हाम्रो वेपत्ता हजारौं योद्धाहरुको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो संघर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरुको, कार्यकर्ताहरुको र मुल नेताको हैसियतले म मा केन्द्रित भएको तागतको कारणले ३२ सिट भएपनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो ।’

दाहालले यस विषयम अहिले धेरै बोल्न नचाहेको बताए । उनले भने, ‘३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौं । बरु सदनमा भएका ८० र ९० वाला वा अन्य पार्टीहरुमा पनि समर्थन । तपाईंहरुले देख्नुभयो-विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो । यो अद्भुत परिघटना हो । नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन । यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरु पार्टीहरुको पनि भरोसा छ । हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो । दोस्रो कुरा म के भन्न चाहन्छु भने त्यतिमात्रै होइन । मैले अव आफैंले एउटा नयाँ अभियानका शुरुवात प्रधानमन्त्रीकै तहबाट, अध्यक्षकै तहबाट त्यो शुरुवात नगर्ने हो भने आम कार्यकर्ता पंक्तिमा पनि विश्वासको, भरोसाको र उत्साहको सञ्चार हुनेवाला छैन । र, आम जनतामा पनि भरोसा जाग्नेवाला छैन । त्यसकारण मैले यो पटक नयाँ संकल्पका साथ प्रधानमन्त्री शपथग्रहण पछि नयाँ अभियानको थालनी आफैले गरेँ-भ्रष्टाचारबिरुद्ध सुशासनको अभियान । यो एउटा महाअभियान हो । यो एउटा ठूलो अभियान हो । यो एउटा नयाँ क्रान्ति हो । यो नयाँ प्रकारको जनयुद्ध नै हो । हिजो जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजामहाराजाहरुका सपना थिए । अहिले पनि दलालहरु, नकचराहरु, प्रतिक्रियावादीहरु अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुवात गरेको सुशासन र भ्रष्टाचारबिरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टाहरु भएका छन् ।’

प्रधानमन्त्री दाहालले आफूले शुरुवात गरेको भ्रष्टाचार बिरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने जिकिर गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *