बाढी-पहिरोबाट १ लाख ६६ हजार जनसङ्ख्या प्रभावित हुने

No ads found for this position
No ads found for this position

चितवन- जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए । महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ ।

यस्तै कालिका नगरपालिकाका दुई हजार ५० घरधुरीका छ हजार, रत्ननगर नगरपालिकाका पाँच हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने जनाइएको छ । खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुने छन् ।

यस्तै पहिरोका कारण एक हजार आठ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपालिका रहेको छ । इच्छाकामनाका एक हजार दुई सय ५६ घरका छ हजार दुई सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

भरतपुरका तीत सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ । जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतङ्क आदि प्रकोप समस्याका रुपमा रहेका छन् ।

सूचना अधिकारी न्यौपानेले भने, ‘विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ ।’ अन्य सामाजिक सङ्घ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उनले जानकारी दिए । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *