गृहमन्त्री सुधन गुरुङले जनताको मतलाई ‘जोक’ बनाउने कि प्रश्नको जवाफ दिने ?

गुरुङलाई गोरखाका जनताले भोट दिएर बेठिक गरे वा ठिक त्यो उनिहरूनै जानुन् । तर, अब भोट फिर्ता कसरी गर्ने ?

No ads found for this position
No ads found for this position

काठमाडौं । जनताले दिएको मत कुनै मजाक होइन। त्यो केवल चुनावको दिन मतपेटिकामा खसालिएको कागजको टुक्रा पनि होइन। त्यो जनताको विश्वास हो, अपेक्षा हो र आफ्ना प्रतिनिधिलाई दिएको जिम्मेवारी हो।

गत  भदौ १ गते गोरखा क्षेत्र नम्बर १ का जनतासँगको भेटमा विकास निर्माणका विषयमा प्रश्न उठ्दा गृहमन्त्री सुधन गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै भोट फिर्ता लैजानुस् भन्ने अभिव्यक्ति दिएको विषय अहिले चर्चामा छ।

बुधवार सिंहदरबामा भेटिएका गृहमन्त्री गुरुङलाई सञ्चारकर्मीले प्रश्न गरे- ‘भोट फिर्ता कसरी लिन मिल्छ ? फेरि चुनाव गर्ने हो?’

जवाफ दिने क्रममा गृहमन्त्रीले आफ्ना मतदातासँग जोक गर्न पनि नपाउनु भनेर प्रतिप्रश्न गरे र उनले जोक गरेको कुरालाई यत्रो ठुलो बनाएर काण्ड नबनाउन आग्रह गरे ।

यस्तै तपाईको सम्पत्ति छानबिन प्रतिवेदन कहिले सार्वजनिक गर्ने ? भन्ने प्रश्नमा उनले झोक्किएर भने- ‘तपाईंलाई ल्याएर देखाउँछु ।’

यहीँबाट मूल प्रश्न उठ्छ। जनताले दिएको मतलाई ‘जोक’ र ‘मजाक’ को विषय बनाउन मिल्छ कि मिल्दैन?

राजनीतिमा हाँसो-ठट्टा हुन सक्छ। नेताले व्यङ्ग्य गर्न सक्छन्। तर, सार्वजनिक पदमा बसेका व्यक्तिको हरेक शब्दले राजनीतिक अर्थ राख्छ। विशेषगरी चुनाव जितेर प्रतिनिधित्व गरिरहेको व्यक्तिले आफ्ना मतदातालाई सम्बोधन गर्दा बोलेको कुरा सामान्य चिया-गफजस्तो हुँदैन। तर गृहमन्त्री गुरुङले जोक गरेको कुरालाई काण्ड बनाउन नहुने बताए ।

जनताले विकास मागेका थिए। उनीहरूले आफ्नो क्षेत्रको आवश्यकता सुनाएका थिए। त्यसको जवाफमा ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति आएको हो भने त्यो मजाक थियो भनेर पछि व्याख्या गरी पन्सिनु पर्याप्त हुँदैन। किनकि मतदाता मजाक गरिरहेका थिएनन्। उनीहरूको आवश्यकता थियो।

भदौ १ गते गोरखाका जनताले चुनावमा गरेको वाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गरेका थिए । उनले चार महिनामै प्रतिफल खोज्न नहुने बरु भोट फिर्ता लैजानु भने ।
उनलाइ एक व्यक्तिले ‘एउटा सानो कुरो’ भन्दै ल्याबको लागि बजेट खै भनी प्रश्न गरे । गृहमन्त्री गुरुङलाई चुनावी वाचा स्मरण गराउँदै उनीले सोधेका थिए- ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै ? हजुरले मन्त्रालयको सचिवलाई फोन गर्नु भएको थियो यहीँबाट । र, तपाईंहरू ढुक्क हुनुस् यो आउने बजेटमा म यहाँको काम गर्दिन्छु भनेर बोलेर जानु भएको थियो । खै त ? त्यो बजेटमा कहीँ पनि देखिँदैन ।’ जनताको यो प्रश्नलाई तर अहिले गृहमन्त्री गुरुङले मजाकको विषय बनाइरहेका छन् ।

एउटा विद्यालयलाई प्रयोगशाला चाहिएको हुन सक्छ। अस्पताललाई उपकरण चाहिएको हुन सक्छ। गाउँलाई सडक चाहिएको हुन सक्छ। युवालाई रोजगारी चाहिएको हुन सक्छ। यी मागहरू कुनै राजनीतिक मजाक होइनन्। यी जनताको दैनिक जीवनसँग जोडिएका वास्तविक प्रश्न हुन्।

नेता जनतासँग मत माग्न घरदैलोमा पुग्दा भोट दिनुस् भनेर लम्पसार पर्ने, घाँसको भारी बोक्ने र चर्चामा आउनका लागि हरेक नाटक गरेका समाचार र तस्बिरहरू नआएका होइनन् । ‘तपाईंहरूको मत चाहियो, तपाईंहरूको साथ चाहियो’ भन्छन् । तर चुनाव जितिसकेपछि त्यही मतलाई ‘फिर्ता लैजानुस्’ भन्नु र प्रश्न उठेपछि त्यसलाई ‘जोक’ भनेर पन्छाउनु राजनीतिक संस्कारका हिसाबले गम्भीर बहसको विषय बन्न सक्छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ मा भोट् माग्ने क्रममा गोरखामा भारी बोक्दै सुदन ।

लोकतन्त्रमा जनताले आफ्नो प्रतिनिधिलाई प्रश्न गर्न पाउँछन्। अझ सार्वजनिक पदमा बसेको व्यक्तिले प्रश्नको सामना गर्न सक्नुपर्छ। प्रश्न मन परेन भन्दै प्रश्न गर्ने सञ्चारकर्मी वा नागरिकलाई दोष दिनु लोकतान्त्रिक संस्कार होइन।

जनताको मत पाँच वर्षका लागि मात्र सुरक्षित जिम्मेवारी हो, जुन नेताले निजी सम्पत्ति सम्झन मिल्दैन। मतदाताले आफ्नो प्रतिनिधिसँग हिसाब माग्न सक्छन्। विकास किन भएन भनेर प्रश्न सोध्न सक्छन्। प्रतिबद्धता पूरा भयो कि भएन भनेर प्रश्न गर्न सक्छन्। प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनेर सोध्न सक्छन्। र, यी प्रश्नको जवाफ दिनु नेताको जबाफदेहिता हो।

राजनीतिमा सबैभन्दा ठुलो शक्ति पद होइन, जनताको विश्वास हो। त्यो विश्वास एक पटक जितेर सधैंका लागि सुरक्षित हुँदैन। हरेक दिनको व्यवहार, निर्णय र जवाफबाट त्यसलाई जोगाउनुपर्छ।

त्यसैले गृहमन्त्रीलाई अभिव्यक्तिबारे प्रश्न गर्दा पत्रकारमाथि आक्रामक हुनु र मजाक बनाउनु भन्दा यस विषयमा गम्भीर हुन आवश्यक छ र जनताको मतलाई सम्मान गर्नु पर्दछ ।

यदि ‘भोट फिर्ता लैजानुस्’ भन्ने कुरा साँच्चिकै मजाक थियो भने पनि त्यसले उठाएको प्रश्न गम्भीर छ। किनकि लोकतन्त्रमा मतदाता मजाक होइनन्, मत मजाक होइन, र  जनताको अपेक्षा पनि मजाक होइन।

नेताले जनतासँग हाँस्न सक्छन्, जनतासँग मजाक गर्न सक्छन्। तर जनताको विश्वासलाई मजाकमा उडाउन मिल्दैन। जनताले चाहेको ‘कायापलट’ होइन। उनीहरूले चाहेको कुरा आफ्नो ठाउँका समस्या सुन्ने र विकास ल्याउन सक्ने नेतृत्व हो। कालो चस्मामा झिल्के बनेर हिँड्ने गृहमन्त्रीले अब चस्माले होइन- जनताको प्रश्नले देखाएको वास्तविकता पनि हेर्नु पर्ने र जिम्मेवार बन्नु पर्छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *