चिकित्सक कुट्नेलाई कारबाही गर्ने मन्त्रालयको वाचा, उपचार सेवा बन्द नगर्न आग्रह

No ads found for this position
No ads found for this position

काठमाडौंर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्दको घोषणा गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहार घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ । स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्‍याइ स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ ।

चिकित्सक संघले गत शनिबार (साउन ९ गते) नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको जनाएको छ। संघले सेवा बन्दबाट बिरामीहरूलाई पर्ने असुविधाको लागि क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *