उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

No ads found for this position
No ads found for this position

सर्लाही । उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा शुक्रबार जिल्ला सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले उखु किसानको वर्षौंदेखि रोकिएको रकम तत्काल उपलब्ध गराउन माग गरेका थिए ।

प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नाराबाजी गरेका थिए । उनीहरूले उखु बिक्री गरेबापत पाउनुपर्ने रकम समयमै नपाउँदा किसानहरू ऋण, आर्थिक अभाव र दैनिक जीवनयापनको समस्यामा परेको बताएका छन्। खेतीमा बढ्दो लागतका बीच पनि किसानहरूले आफ्नो उत्पादनको मूल्य नपाउनु दुःखद भएको उनीहरूको भनाइ थियो ।

उनीहरूले असार मसान्तभित्र किसानको बक्यौता रकम भुक्तानी नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् । आवश्यक परे जिल्लादेखि केन्द्रसम्म दबाबमूलक आन्दोलन सञ्चालन गरिने र किसानको हक सुनिश्चित नभएसम्म संघर्ष जारी रहने उनीहरूको भनाइ थियो ।

सर्लाहीसहित मधेशका विभिन्न जिल्लाका उखु किसानहरू लामो समयदेखि उद्योगहरूबाट पाउनुपर्ने रकमको प्रतीक्षामा छन् । किसानहरूले बारम्बार आन्दोलन र दबाबका कार्यक्रम गर्दै आए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *