दरबार हत्याकाण्डको २५ वर्ष पूरा, आजसम्म पनि रहस्य गर्भमै
काठमाडौं । आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटनाको रुपमा मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्मपनि बाहि आउन सकेको छैन् ।
वि.सं. २०५८ साल जेठ १९ गते रातिको त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । पारिवारिक जमघटका बेला भएको घटनामा तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।
दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।


