ट्रम्पसँग अनुहार मिलेको भैँसीलाई बलि नदिई, संरक्षणलागि पठाइयो चिडियाखाना

No ads found for this position
No ads found for this position

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो अनुहार र कपालको शैली मिलेका कारण विश्वभर चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो भैंसी (सेतो भैंसी) लाई अब संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ ।

आफ्नो विशिष्ट गोरो रंगको झुप्पा कपाल र अनुहारको बनावटका कारण इन्टरनेटमा भाइरल भएको यो भैंसीलाई इद–उल–अधाको अवसरमा कुर्बानी (बलि) दिनबाट जोगाइएको हो ।

ढाका चिडियाखानाका निर्देशक रफिकुल इस्लाम तालुकदारले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उक्त भैंसीलाई प्रदर्शनीका लागि मात्र नभई विशेष संरक्षणका लागि चिडियाखानामा ल्याइएको जानकारी दिए ।

तालुकदारले भने, ‘यो अल्बिनो भैंसीलाई हालै संरक्षणका लागि हामीकहाँ हस्तान्तरण गरिएको छ। हामीले यसलाई चिडियाखानामा विशेष रेखदेखमा राखेका छौं । यद्यपि यो खुला क्षेत्रमा भएकाले मानिसहरूले टाढैबाट हेर्न भने सक्छन् ।’

करीब आठ महिनाअघि ढाका नजिकैको नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा यो विशेष प्रजातिको भैंसी ल्याइएको थियो । दुई महिनाअघि पुरानो ढाकाका एक व्यवसायीले यसलाई इदका लागि कुर्बानी दिन खरिद गरेका थिए । फार्ममा रहँदा ट्रम्पसँग मिल्दोजुल्दो अनुहार र कपालका कारण यसको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

स्थानीय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म यसको चर्चा चुलिएपछि बंगलादेशका गृहमन्त्री सलाहउद्दीन अहमदले यो भैंसी एउटा विशेष प्रजाति भएकाले यसलाई बलि नदिई संरक्षण गरिने घोषणा गरेका थिए ।

गृहमन्त्रीको निर्देशनपछि भैंसीलाई स्थानीय केरानीगञ्ज मोडल प्रहरी चौकीमा राखिएको थियो र त्यहाँबाट गएराति प्रहरीकै सुरक्षामा ढाका चिडियाखाना पुर्‍याइएको हो ।

चिडियाखानाको नियम अनुसार, कुनैपनि नयाँ जनावरलाई कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले अहिले नै पर्यटकहरूलाई यसको नजिक जान र छुन अनुमति दिइएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *