३ दिन भारी बर्षा हुने, राती यात्रा नगर्न आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज र भोली केही प्रदेशमा भारी वर्षा हुने जनाएको छ। महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आज कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
यस्तै दुई दिन सातै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेकोले विभागको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
महाशाखाले विशेषगरी गण्डकी क्षेत्रमा अपरान्ह मध्यमदेखि भारी वर्षा हुनेछ। काठमाडौं उपत्यका लगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र अलि राती ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आजबाट पर्न थालेको बर्षा बुधबार र बिहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशुली-कालीगण्डकीसम्म बेला-बेलामा वर्षा भइरहने देखिन्छ। यस्तै त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग सँगै सिद्धार्थ, पासाङ-ल्हामू, बीपी राजमार्गहरुमा मंगलबार, बुधबार र बिहीबार रातीको समयमा सकेसम्म यात्रा नगर्न सुझाइएको छ।


