छलफल नगरी कुनै पनि विधेयकलाई अघि बढ्न दिइनेछैन : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनैपनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् ।
साना तथा मझौला व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनैपनि विधेयक सरोकारवालाहरुसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफ्ती सुरुवात गर्न आफूहरु सफल भएको बताए ।
दाहालले सरोकारवालाहरुको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसदमा विधेयकलाई अघि बढाइने आश्वासन दिए । उनले संसदमा विधेयक आउँदा जसरी आएको भएपनि संसदमा त्यसको विषयमा गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने पनि बताए ।
दाहालले भने,‘तपाईंहरुलाई अनौठो लाग्नसक्छ । बलजफती हामीले केसम्म अहिले गर्न सकेका छौं भने कुनैपनि विधेयक आयो र छलफल गर्दाखेरी सम्बन्धित सरोकारवालालाई ल्याएर त्यो विधेयकको छलफल को पहिलो दिन नै सरोकारवालाका समस्याहरु, उनीहरुका भावनाहरु, उनीहरुको मनोविज्ञानहरुलाई समेट्नुपर्छ भन्ने एउटा सिष्टमको अहिले सुरुवात भएको छ । जसले सरोवालाहरुसँग छलफल नगरी विधेयक अगाडि बढ्दैन । तर त्यो बन्दाखेरी कताकताबाट बन्छ भन्ने स्थिति छ । मन्त्रीलाई सोध्यो आएको छ, मैले त प्रश्तुत गरेँ भनेको हुन्छ । यस्तै अवस्था छ ।’
उनले संसदमा ४० प्रतिशत भन्दा बढि युवाहरुको प्रतिनिधित्व हुनु गर्वको विषय भएको पनि बताए ।


