चोर नाकाबाट भन्सार छली ल्याइएका ४ क्विन्टल कुखुरा नष्ट

No ads found for this position
No ads found for this position

रौतहट । रौतहटको परोहा नगरपालिकास्थित नेपाल-भारत सीमावर्ती चोर नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

परोहा नगरपालिका–८ नरकटिया सीमा क्षेत्र हुँदै अवैद्य रूपमा नेपाल ल्याइँदै गरेका १३४ पिस (४०२ केजी) प्रतिबन्धित बोइलर कुखुरा सशस्त्र सीमा सुरक्षा गुल्म गौरको टोलीले बरामद गरेको हो ।

गएराति करिब ९:४० बजे विओपि सरमुजवाबाट खटिएको गस्ती टोलीले भारतबाट झोलामा बोकेर ल्याउँदै गरेको अवस्थामा ती कुखुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका कुखुरालाई शुक्रबार बिहान स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा खाल्डो खनेर पुरिएको छ । सशस्त्र प्रहरीका डिएसपी प्रेमसागर विष्टका अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले सूक्ष्म निगरानी बढाएको छ ।

अवैध कुखुरा नष्ट गरिएसँगै यस्तो कारोबारमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्न ठूलो सहयोग पुग्ने डिएसपी विष्टले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *