सार्वजनिक यातायातमा विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिनको लागि निर्देशन दिएको छ ।
विभागले सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको निर्णयलाई स्मरण भाडा छुट दिन निर्देशन दिएको हो । उक्त निर्णय अनुसार विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट पाउँदै आएका थिए ।
सोहि अनुसार यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले सहुलियत भाडा कडाइका साथ लागू गर्न ताकेता गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न विभागले सम्झाएको छ ।
इन्धनको मूल्य बढेसँगै कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढिरहेको छ । हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको विभागले जनाएको छ ।
सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने गरेको गुनासो प्राप्त भएपछि विभागले पुनः पत्राचार गरी ध्यानाकर्षण गराएको हो ।
यदि कुनै पनि सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरे कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।


