गृहमन्त्रीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न जेनजी मुभमेन्टले दियो प्रहरीमा उजुरी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी रासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाउन माग गर्दै जेनजी मुभमेन्टले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गरेको छ।
प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी मुख्यालयमा पठाइएको जनाइएको छ।
निवेदनमा संगठनले मन्त्री पदमा बहाल रहेको अवस्थामा अनुसन्धान प्रक्रियामा संलग्न हुनु स्वार्थको द्वन्द्व हुने भन्दै यसले प्राकृतिक न्यायको सिद्धान्तमा असर पार्ने तर्क गरेको छ। साथै पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने तथा अनुसन्धानमा अवरोध पुग्न सक्ने जोखिम रहेको पनि दाबी गरिएको छ।
गुरुङले जेनजी आन्दोलनका क्रममा पानी वितरणको नाममा स्वयंसेवकको भूमिका लिई आन्दोलनलाई प्रभाव पार्ने प्रयास भएको, आन्दोलनलाई हिंसात्मक बनाउने र राज्य संयन्त्र कमजोर पार्ने गतिविधि भएको उजुरीमा आरोप लगाइएको छ।
त्यसैगरी आन्दोलनको दुरुपयोगमार्फत आर्थिक लाभ लिएको, बिचौलिया तथा दलालहरूसँग मिलेमतो गरेको तथा ७६ जना सहिद र घाइतेप्रति अपमानजनक व्यवहार भएको उजुरीमा उल्लेख छ।
उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाइएको छ।


