पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : भौगोलिक विकटता र सडक नहुँदा ओझेलमा (तस्बिरहरु)

कर्णालीमा कहाँ-कहाँ घुम्ने र कसरी पुग्ने ?

No ads found for this position
No ads found for this position

सुर्खेत । कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतिको भर्जिन गन्तव्यका रूपमा कर्णालीलाई लिन सकिन्छ । कर्णालीको भौगोलिक विकटता, सडक यातायातको पहुँचको अभाव र पर्यटकीय स्थलहरूको प्रचार प्रसार नहुँदा ती थुप्रै सम्पदा ओझेलमा परेका छन् ।

कर्णालीमा देशको सबैभन्दा ठुलो रारा ताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोकी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् ।

पछिल्लो समय कर्णालीका पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका छन् । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि पर्यटकको कर्णालीको पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकारले ‘विश्वको गन्तव्य नेपाल, नेपालीको गन्तव्य कर्णाली’ को आकर्षक नारासहित आफ्नो नीति कार्यक्रम मार्फत पर्यटन विकासको पहल गरिरहेको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरू पहिचान गरी पर्यटन गन्तव्यका रूपमा घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका प्रसिद्ध पर्यटकीय स्थलहरू छन् । देउती बज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रूपमा चिनिएको देउती बज्यै, सहिद पार्क, लगायतका स्थानहरू सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण हुन् ।
त्यस्तै बराह ताल, भाइरल रोड, गोठ काँडा, जर्बुटालगायतका स्थानहरूले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।

दैलेखको पञ्चकोकी, कालिकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरूले कर्णालीको मात्र होइन मुलुककै पहिचान दिइरहेका छन् ।

त्यसका साथै कर्णालीका केही मानव निर्मित स्थानहरूले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् । ती मध्ये सुर्खेतको सहिद पार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजल स्थित पेट्रोलियम पदार्थ उत्खनन स्थल, कालिकोटको पिली क्षेत्र (युद्ध पर्यटकीय स्थल) राष्ट्र गुरु योगीनाथको जन्मस्थान नरहरिनाथको लालु, कालिकोटको त्रिवेणी पाटन, रुडुबन्चुलगायतका क्षेत्रहरू कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू हुन् ।

कर्णालीमा पर्यटकको आकर्षण बढेको पछिल्ला तथ्याङ्कहरूले पनि पुष्टि गरिरहेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको छ महिनामा मात्र कर्णालीमा पाँच लाख ७९ हजार ९ सय ४३ पर्यटक कर्णाली भित्रिएका छन् । यसमा सबै भन्दा धेरै भारतीय पर्यटक रहेको र मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

अघिल्लो वर्ष कर्णाली प्रदेशमा समग्रमा पर्यटन आगमन ११ दशमलव ०९ प्रतिशतले वृद्धि भएको थियो । कर्णालीको पर्यटन प्रवर्द्धनका लागि सरकारले प्राथमिकता दिएर काम गरिरहेको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी बताउँछन् ।

कर्णालीको पर्यटन विकासका लागि प्रदेश सरकारले गत वर्षदेखि पर्यटन प्रवर्द्धन विकास समिति गठन गरी सोही समितिमार्फत पर्यटन प्रवर्द्धन तथा विकासका काम थालेको उनले बताए । पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि तालिम, पर्यटकीय स्थलको प्रचार–प्रसार, १० जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि सबै जिल्लालाई जोड्न पर्यटन सर्किटको अवधारणमा काम गर्ने गरी योजना बनाइरहेको उनको भनाई छ ।

‘चालु आव २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवर्द्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ’ उनले भने, ‘प्रदेश सरकारले पर्यटकको संख्या, बसाइ अवधि र खर्च रकम बढाउने वातावरण निर्माण गर्न स्थानीय तह र निजीक्षेत्रसमेतको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणका कार्यक्रम थालिएको छ ।’

प्रदेशभित्र बन्जिजम्प, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, अफरोड कार र्‍याली, अफरोड बाइक रेसजस्ता साहसिक खेल तथा हनी हन्टिङ, हाइकिङ, ट्रेकिङ, खेलकुद तथा आरोग्य पर्यटनलगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पुर्‍याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रियता प्रचार–प्रसारका कार्यक्रम सरकारले अघि सारेको छ ।
मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वयन गर्ने, पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्ने, गन्तव्य कर्णाली एप निर्माणको काम भइरहेको छ ।

कर्णाली प्रदेशका प्रमुख पर्यटन सम्पदाका बारेमा जानकारीमूलक पर्यटक गाइड बुक तयार पारिनुका साथै पर्यटकलाई निर्भयका साथ घुमफिर गर्ने वातावरण निर्माण गर्न पर्यटकको सुरक्षा र अप्ठ्यारो परिस्थितिमा तत्काल सहयोग गर्ने संयन्त्रको विकासका कार्यक्रम प्रदेश सरकारले गरिरहेको छ । कर्णालीको समग्र पर्यटन प्रवर्द्धन तथा विकासमा प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४३ करोड बजेट व्यवस्थापन गरेको छ ।

कसरी पुग्ने कर्णाली ?

कर्णालीका यी सबै पर्यटकीय गन्तव्यहरूमा पुग्न कर्णालीको राजधानी आउनै पर्दछ । काठमाडौंदेखि सुर्खेतसम्म हवाई जहाज र बसको यात्रा गर्न सकिन्छ । काठमाडौंदेखि सुर्खेत हवाई जहाजले १ घण्टा १० मिनेट र बसमा २४ घण्टा बढी समय लाग्ने गर्दछ ।

सुर्खेत पुगेपछि काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै र सहिद पार्कको घुमघामका एकै दिनमा सकिन्छ । अनि बाँकी अन्य जिल्लाहरूमा स्थल र हवाई मार्ग दुवै प्रयोग गर्न सकिन्छ । डोल्पा, जुम्ला, हुम्ला र मुगु जिल्लामा हवाई यात्राका लागि नेपालगन्ज भएर जान सकिन्छ ।

कर्णालीको राजधानी सुर्खेत पुगेपछि एक पटक धेरै पर्यटकीयस्थलहरुमा घुमघाम गर्न पाइन्छ । सुर्खेत आउने जो कोहीका लागि पनि बुलबुले ताल, काँक्रेविहार र देउती बज्यैको दर्शन प्रमुख आकर्षक मानिन्छ ।

कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेतका यी पर्यटकीय स्थानहरूले पर्यटकको आकर्षण बढाएका छन् । सुर्खेत कर्णाली प्रदेशको राजधानीसँगै यो प्रदेशको प्रदेशद्धार पनि हो । कर्णालीका थुप्रै पर्यटकीय स्थलहरू मध्येको सुर्खेतका यी स्थलहरूले पर्यटकहरुलाइ आकर्षण गरिरहेका छन् ।

कर्णालीका पर्यटकीय गन्तव्य

देउती बज्यै (सुर्खेत)

देउती बज्यै कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीय स्थलका रूपमा चिनिएका छ । सुर्खेत पुग्ने बित्तिकै गंगामाला देउती बज्यैको मन्दिरको दर्शन गर्न पाइन्छ । रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरादेखि दुई सय मिटर दक्षिणमा अवस्थित यो मन्दिर हिन्दु धर्मावम्वीहरुको प्रमुख आकर्षण पनि हो ।

गंगामाला देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउतीमाईका सात बहिनीमध्ये केशमाला सल्यान कालीमाटी, रतन माला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्माला कल्याण सुर्खेत, चामामाला बबैगुठी बर्दिया, राममाला छिन्चु सुर्खेत र गंगामाला नयाँ गाउँ पिपिरा सुर्खेत रहेको भन्ने जनविश्वास छ । देउती बज्येको दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।

बुलबुले ताल (सुर्खेत)

सुर्खेतको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय आकर्षण हो । कर्णाली प्रदेशको स्थायी राजधानी भएसँगै बुलबुले तालमा आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको छ ।

जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर नै यसको नामकरण बुलबुले ताल गरिएको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो ।

बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थलसहित एउटा पछिल्लो समय बोटिङ गर्न पाइने भए पछि दैनिक पर्यटकहरूको संख्या बढी रहेको छ । पिकनिकका लागि आवश्यक सामग्रीहरू त्यहीँ किन्न सकिन्छ भने तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ । तालको पूर्वतिरका पाँच धारमा महिला र दक्षिणतर्फका धारमा पुरुषहरूले नुहाउने गरिएको छ ।

काँक्रेविहार (सुर्खेत)

सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ । तेह्रौँ शताब्दीतिर काँक्रेविहार निर्माणको अनुमान गरिए पनि यसको आधिकारिक तथ्य भने भेटिएको छैन । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरूले बौद्ध विहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरिएको छ ।

काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारिगरले विभिन्न आकारमा रहेका ढुङ्गाहरूमा विभिन्न प्रकारका बुट्टाहरू कुदेको भग्नावशेष पाइन्छ । प्रायः जङ्गलभरि यस्ता बुट्टाहरू कुदिएका ढुङ्गाहरू भेटिन्छन् ।

बुद्धको मूर्ति पाउनु र स्थानको नाममा पछाडि विहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धित मानिएको छ । ०७१ सालको भूकम्पले भग्नावशेष भएको काँक्रेविहारलाई पुर्ननिर्माणसंगै यहाँ आउने पर्यटकहरू बढेका छन् । काँक्रेविहार क्षेत्रमा घोडामा चढेर घुम्न मिल्ने भए पछि स्थानीय पर्यटकको पनि रोजाइमा परेको छ ।

ज्वाला र पञ्चकोशी (दैलेख)

सुर्खेतबाट कर्णालीको यात्रामा निस्कने जो कोहीका लागि छिमेकी जिल्ला दैलेखमा रहेको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र पर्यटकका लागि अर्को रोजाइ हुन् । पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीयहरू पनि आउँछन् ।

श्रीस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्ति पीठ पर्दछन् । भैरवी, मालिका, स्वामी कार्तिके, विन्ध्यवासिनी, लामाद्वारा आदि चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दू धर्मावलम्बीको लागि मात्र नभएर बौद्ध धर्मावलम्बीको लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँच वटा पवित्र तीर्थ दैलेखमै छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे÷नरहेको अनुसन्धान गर्दैछ । दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक हिसाबले धनी छ । पुरातात्त्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् ।
पञ्चकोसी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको मानिन्छ । खानी तथा भूगर्भ र चाइना जियोलजिकल सर्भेले गरेको अन्वेषण र चीनकै शिबु ड्रिलिङ इन्जिनियरिङले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार यहाँ १ सय १२ अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएका छ । उक्त प्रतिवेदनअनुसार नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको अनुमान छ ।

पचाल झरना (कालिकोट)

कालिकोटको पचालझरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ । ३ सय ८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ । तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुमस्थित ह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाको रूपमा परिचित छ ।

कालिकोट सदरमुकामदेखि करिब १६ घण्टाको पैदल यात्रापछि पचाल झरनामा पुग्न सकिन्छ । पछिल्लो समय कर्णाली कोरिडोर सञ्चालन भए पछि भचालझरना पुग्न केही सहज भएको छ । कर्णाली नदीको किनारै किनार झचालझरनासम्म पुग्दा थुप्रै आकर्षक दृश्यहरू पनि देख्न पाइन्छ ।

कालिकोटमा पुगेपछि राष्ट्र गुरु योगी नरहरिनाथको जन्मस्थान पनि नजिकै छ । जसको नाममा योगी नरहरिनाथ गाउँपालिकाको नामकरण गरिएको छ । नरहरिनाथमा पुगेपछि पाँच घण्टाको पैदल यात्रापछि अछामको रामारोसन र बाजुराको बढीमालिका पुग्न सकिन्छ । यो यात्रामा स्थानीय उत्पादनका परिकारहरू र अधिकतम दही दूध र महको स्वाद लिन सकिन्छ ।

कुपिन्डे दह (सल्यान)

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी बस्तीको बिचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख बिरुवा, सुन्दर बस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ ।

डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् । कुपिण्डे दह ३४ मिटर गहिरो, २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइ आठ सय ३४ मिटर र चौडाइ पाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

चारैतिर पहाडले घेरिएको र बिचमा नीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जङ्गल र बिचमा नीलो आकाशझैँ उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्य ताले भरिपूर्ण छ ।

सल्यान सदरमुकाम खलङ्गाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । वीरेन्द्रनगर सुर्खेतबाट दुई घण्टाको बसको यात्रामा कुपियडे तालमा पुगिन्छ । तालमा घुमेर फर्किए पछि सल्ली बजार, बालुवा संग्रही या खलङ्गा गएर पनि बास बस्न सकिन्छ ।

शे–फोक्सुन्डो ताल (डोल्पा)

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुन्डो ताल । छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल । काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ ।

यसको अधिकतम लम्बाइ ५.९३ किमी र अधिकतम चौडाइ १.८० किमी छ भने गहिराइ १४५ मिटर । ताल २३ सेप्टेम्बर २००७ मा राम सार साइटमा सूचीकृत भएको छ ।

डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो । डोल्पामै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा पाइन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ ।

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

काठमाडौं–सुर्खेत–जाजरकोट–डोल्पा सडक यात्रा बसमा डोल्पा सदरमुकाम दुनैसम्म गाडीको यात्रामा जानु पर्ने हुन्छ । सुर्खेत–जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म २५५ किमी सडकमा सहजै सवारी सञ्चालनमा छन् । जुफाल–सुलिगाड ८ किमी जिपमा यात्रा गरेपछि । सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रामा फोक्सुन्डो ताल पुगिन्छ । ताल नजिक खानबस्नका लागि होटलहरुको सुविधा छ ।

लिमी उपत्यका (हुम्ला)

अझैपनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्ला हो, हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पदमार्गपछि लिमी उपत्यका पुग्न सकिन्छ । ११ औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना–ठुला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्र हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् ।

महँगा मूर्ति, पौराणिक वास्तुकला लिमाकी थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृति लगायतका वस्तु अति नै लोभ लाग्दा छन् ।

प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्त्वपूर्ण मानिएको यो उपत्यका समुद्री सतहबाट १७ हजार फिट उचाइमा अवस्थित छ । लिमी उपत्यकाको लाप्चा नाकाबाट तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न सकिन्छ । जाङ, हल्जी र तिल गाउँबाट कैलाश मानसरोवर पैदल पनि हिँडेर जान सकिन्छ । १९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजुलगायतका सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ ।

लिमी उपत्यकामै वनचौंरी, वन घोडा, वन बिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालु लगायतका दुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणित भएको छ ।

हिन्दु र बौद्ध दुवैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौँको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिम कोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि प्रवेशद्वार पनि हो ।

स्यार्पु ताल (रुकुम पश्चिम)

रुकुमको स्यार्पु ताल बर्सातको समयमा एक पटक अवलोकन गर्नै पर्ने ताल हो । मुसिकोटबाट राता माटा, गारा घाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटा बाटो छ भने मुसिकोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्को बाटो छ । चारैतिर हरियाली गाउँ बिचमा सुन्दर तालमा डुङ्गा शयर गर्नुको मज्जा बेग्लै छ । रुकुम जिल्लालाई पर्यटकीय दृष्टिकोणले अग्रपंतिमा लिनको लागी यो स्यार्पु तालको उत्तिकै महत्त्व छ ।

रुकुम सदरमुकामदेखि एक दिनको पैदल दुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्यार्पु तालमा रमाउन पुग्ने पर्यटकका लागी होमस्टे पनि सञ्चालनमा छन् । तालमा र्‍याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ ।

८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुङ्गा सञ्चालनमा छन् । तालको चारैतर्फ मिलेर बनेका वस्तिहरू, नजिकै रहेको स्यानी दह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानी भेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्साएको छ । स्यार्पुतालमा जानका लागि सवारी साधन गाडी नै हो । रुकुम पश्चिम सदरमुकाम खलङ्गा पुगेर डिग्रे साई कुमारी मन्दिर दर्शन गरेर पनि स्यार्पु आउन सकिन्छ भने सुर्खेतबाट सात घण्टामा सुर्खेत पुग्न सकिन्छ ।

रारा ताल (मुगु)

रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ ।

साँझ तालको वरिपरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ ।

नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको हो रारा । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र वीर विक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर उपमा दिएका थिए ।

राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्त्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल पुग्न अहिले बहुत सहजता आएको छ । यो मौसम रारा भ्रमणका लागि उपयुक्त मानिन्छ । रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ । राराबाट फर्किँदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरू कोसेलीको रूपमा ल्याउन सक्नुहुन्छ ।

सडक र हवाई दुवै माध्यमबाट जान सकिन्छ । हवाई यात्राका लागि नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । ताल्चा विमानस्थलबाट करिब ३ घण्टा पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ ।

हवाई यात्रा नियमित उडान नहुन सक्छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब ३ घण्टा पैदल यात्रामा रारा ताल पुगिन्छ । रारा भ्रमण गर्दा खाने बस्नेलगायत औसतमा दैनिक २ हजार खर्च लाग्छ ।

नेपालगन्जबाट ताल्चा विमानस्थलसम्मको यात्रा करिब ६ हजार भए पनि यो रकम फेरबदल भइरहन्छ । वीरेन्द्रनगरबाट रारा जानका लागि नियमित गाडीबाट निकै कठिन हुन्छ । त्यसैले फोर ह्वीलवाला गाडी रिजर्भमा जाँदा दिनको ६/७ हजार रुपैयाँ खर्च लाग्छ ।

चन्दननाथ मन्दिर (जुम्ला)

कर्णालीको प्रमुख धार्मिक पर्यटकीय स्थल चदननाथ भैरवनाथ मन्दिर पनि एक हो । जुम्ला खलंगाको बिचमा रहेको चन्दननाथ मन्दिरमा एक वर्षमा ५२ हप्ता हुने भएकोले ५२ हाते लिङ्गो खडा गर्नुपर्ने प्रचलन छ ।

लिङ्गोलाई रातो, सेतो, रङ्गीबिरङ्गी कपडाले ढाकिन्छ । लिङ्गोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिङ्गो भाँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।

देवताको जय घोष र पूजा आरती, भजनकिर्तनका साथ लिङ्गो फेर्ने चलन रहेको छ । चन्दननाथ मन्दिरसँगै जोडिएको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।

६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिङ्गो फेर्ने कार्य तीन हजार पटक भएको देखिन्छ । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौँरी फुर्को ल्याउने परम्परा छ ।

जुम्ला राज्यको स्थापनासँगै १४४८ मा राजा बलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । पटक पटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । चन्दननाथ जानका लागि राराको यात्रा बनाएर दुई घण्टा खलङ्गा पुगेर पनि घुमेर फर्किन सकिन्छ । चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातोपानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिंजा उपत्यका पनि घुम्न सकिन्छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *