सभामुखमा डीपी अर्याल निर्विरोध, चैत २२ गते औपचारिक घोषणा
काठमाडौं। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध भएका छन् ।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो । उनी निर्वाचित भएको घोषणा हुन बाँकी छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भए प्रतिनिधिसभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
चैत २२ गते औपचारिक घोषणा
प्रतिनिधि सभाको बैठक चैत २२ गते आइतबार बस्दैछ । बैठकमा उक्त प्रस्ताव पेश गरिने कार्यसूची रहेको छ । बैठकमा प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
निर्वाचित घोषणा भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् र त्यसपछिको बैठक सञ्चालनको जिम्मेवारी सम्हाने छन् ।
विगत केही समयदेखि सभामुख पद रिक्त रहँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन् ।


