बर्डफ्लू सङ्क्रमण फैलिँदै : सुनसरीमा १९ हजार कुखुरा नष्ट

No ads found for this position
No ads found for this position

इनरुवा । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो ।

इनरुवा नगरपालिका-२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उनले जानकारी दिए । इटहरी-१६ स्थित सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको डा. महतोले बताए ।

जिल्लाका विभिन्न ठाउँमा कुखुरा फार्म परीक्षण गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रोग पुष्टि गरेसँगै नियन्त्रणका उपाय तीव्र पारिएको उनले बताए ।

सङ्क्रमण फैलिन नदिन फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा गरिएको डा. महतोले जानकारी दिए । कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन किसानलाई आग्रह गरिएको उनले बताए ।

उनका अनुसार जिल्लामा हालसम्म सङ्कास्पद लागेका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको छ । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *