हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हाम्रो हो, सडकबाटै सरकार चलाउँछौँ : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रूपमा काम गर्ने बताए ।
मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने घिसिङको भनाई थियो । उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिबद्धता रहेको बताए।
घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रूपमा उदय हुने जिकिर गरे।
उनले भने,‘उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रीय कमिटीको बैठक राख्यौँ । छलफल गर्यौँ । देशैभरीको उम्मेदवारहरूलाई बोलाएर समीक्षा गर्यौँ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ । हामीले त्यस विषयमा छलफल गरेका छौँ । र सबै प्रदेशहरूमा हामीले भेलाहरू, तय गरेका छौँ । पहिलो भेला हामी बागमती प्रदेशबाट गर्दैछौँ । १४ गते हामी मधेस प्रदेशबाट भेला गर्दैछौँ । त्यस्तै गरेर हामी सात वटै प्रदेशमा भेलाहरू सम्पन्न गर्दैछौँ । त्यसपछि हामी जिल्ला भेला, पालिका भेला र वडासम्मको भेला सम्पन्न गरेर उज्यालो नेपाल पार्टीले अब गाउँ टोलसम्म हाम्रो संगठन विस्तार गर्नेछौँ । अब हामी घर दैलोमा पुग्छौँ । घरघरमा पुग्छ र उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निकाय र प्रदेशको चुनावमा नेपालको सशक्त पार्टीको रूपमा उपस्थित हुन्छौँ ।’
अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएर कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको बताए ।


