राष्ट्रको पक्षमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: सचिव अर्याल
काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छिन् ।
बिहीबार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मक कामको लागि सहयोग गर्ने बताइन् ।
उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताइन् । सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनको भनाई छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उनले बताइन् ।
एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाई छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्र हितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने बताइन्।
उनले भनिन्, ‘आज केही नभएको होइन, तर जनताको अपेक्षा के हो भने मुलुकमा रोजगारी । बेरोजगारी समस्याको समाधान हुनपर्यो, वृद्ध र महिलालाई सम्मान हुनुपर्यो, उत्पादनमा वृद्धि हुनुपर्यो । हामी आत्मनिर्भर बन्ने दिशातिर जानुपर्यो, सधैँ मगन्ते हुनुभएन । विकास र समृद्धिको बाधक राजनीतिक अस्थिरता हो । त्यसैले अहिले कसैले छुन नसक्नेगरि झन्डै दुई तिहाइ नयाँ शक्तिले प्राप्त गरेको छ । नयाँ शक्ति हो, जोस, जाँगर छ, खबरदारी पनि छ । त्यस कारण हामी पनि प्रतिपक्षबाट जनताको मतलाई तलमाथि गर्न पाउँदैनौँ भनेर खबरदारी गर्नेछौँ र सही ट्रयाकमा ल्याउनेछौँ । जनताको पक्षमा, राष्ट्रको पक्षमा हाम्रो भूमिका संसदमा सशक्त हुन्छ, सरकारले ल्याएका राम्रा कामको लागी सहयोग हुन्छ, नराम्रा काम, जनहित र राष्ट्रहित विपरीतको कामको लागि हाम्रो खबरदारी हुन्छ ।’
उनले एमालेले निर्वाचनमा पाएको असफलताको समीक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने बताइन् ।


