टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो (तस्बिरहरु)
काठमाडौं । काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न भएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतका उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो । काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको किवदन्ती छ ।

शहरका कुनैपनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । यसै अवसर पारेर सरकारले बुधवार (आज) काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिएको थियो ।



