चिनियाँ राजदूतलाई अध्यक्ष दाहालले भने- बीआरआई कार्यान्वयन हुन्छ
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले चिनियाँ राजदूत चाङ माओमिङसँग भेट गरेका छन्। भेटमा दाहालले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन हुने बताएका छन्। उनले चीनसँग भएका सहमतिहरू प्राथमिकताका साथ कार्यान्वयन हुने बताए।
छलफलमा दाहालले भने- ‘चीनले नेपालको पूर्वाधार विकासलगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय छ। बिआरआईलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुन्छ ।’
दाहालले नेपाल सधैं एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गराएका थिए। आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने उनको भनाइ थियो।
भेटमा चिनियाँ राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए। उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाईमा उठेको बताएका थिए।


