गाडी भाडा तत्काल बढाउन सरकारसँग यातायात व्यवसायीको माग
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा तत्काल बढाउन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै व्यवसायीले भाडा बढाउन मागको हो ।
निगमले डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति निकाल्दै एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष मार परेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको भए पनि विगत २०८१/९/२२ गतेदेखि भाडा समायोजन भएको छैन । हाल भएको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ ।’
महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन अनुसार वृद्धि गर्न माग गरेको छ ।



