सडक किनारमा खाली सिलिन्डरको लाइन, ग्यास पाउन सास्ती (फोटो फिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ । ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिन्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् ।

ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिन्डरको लामो लाइन देख्न सकिन्छ । विशेष गरी ‘नेपाल ग्यास’का राता सिलिन्डरहरू सडक पेटीमा लामबद्ध राखिएका छन् ।

आफ्नो पालो कुरेर घन्टौँ उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ । कोही मोटरसाइकलको पछाडि सिलिन्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौँ सिलिन्डर बोकेर डिपो धाउन बाध्य छन् ।

भीड भाडमा आफ्नो सिलिन्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिन्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ ।

एउटा ग्यास सिलिन्डर भर्नका लागि आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको छ ।

बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ । जसका कारण ग्यास पाइने आसमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा ह्वारह्वारती पुग्ने गर्छन् ।

अत्यावश्यक उपभोग्य वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्नु र बेला–बेलामा यस्तो अभाव सिर्जना हुनुले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायले ग्यास आपूर्तिलाई सहज, पारदर्शी र नियमित बनाउन तत्काल कदम नचाल्ने हो भने सर्वसाधारणले यस्तो सास्ती अझै व्यहोरिरहनुपर्ने निश्चित छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *