नवनिर्वाचित सांसद भन्छन्: भ्रष्टाचारको अन्त्य, संघीयता र समावेशीतामा काम गर्छौं

बिलहरूलाई अघि बढाउने र राष्ट्रलाई निकास दिने काम मेरो प्राथमिकता : सुनिल थापा

No ads found for this position
No ads found for this position

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाका सांसदहरूले मुलुकमा संघीयता र समावेशीतालाई मजबुत बनाउने गरी आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार राष्ट्रिय सभा सदस्य पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नेपाली कांग्रेसका सांसद सुनिल थापा, नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कांग्रेस सांसद थापाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति मुलुकको मुख्य एजेण्डा भएको उल्लेख गर्दै सोही अनुसारको कानुन निर्माणमा आफूहरू केन्द्रित हुने बताए । उनले सांसदलाई अझै क्रियाशील बनाउने र मुलुकलाई निकास दिने खालको कानुन निर्माणमा आफूहरू लागिपर्ने बताए ।

सांसद थापाले भने, ‘बिल हरुलाई अघि बढाउने र राष्ट्रलाई निकास दिने अनि अहिले भएको संघीयता र समावेशितालाई मजबुत बनाउनका लागि काम गर्ने हो । दोस्रो हामीहरूले एन्टी करप्शन र गुड गभर्नेन्सका कुराहरु छ । जेनजी आन्दोलन यसैको लागि भएको हो । त्यसलाई अन्त्य गर्ने गरी बिल ल्याउने हो । मुख्य कुरा पार्लियामेन्टलाई याक्टिभ गराउने हो । त्यो काम गर्छौं ।’

एमालेकी सांसद एवं पूर्व मन्त्री रामकुमारी झाँक्रीले मुलुकलाई निकास दिनका लागि आफूले सावधानीपूर्वक काम गर्ने बताइन् । उनले सांसदहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्ने भएकाले आफू सोही अनुसार अघि बढ्ने बताइन् ।

सांसद झाँक्रीले भनिन्,‘राष्ट्रिय सभाको काम, कर्तव्य र अधिकार के हुन्छ भन्ने मैले बुझेको छु । त्यही अनुसार मैले यसलाई एउटा कामको रुपमा लिएको छु । र सावधानीपूर्वक काम गर्नुपर्ने बेला छ । मैले सांसदको यो जिम्मेवारीलाई यही रुपमा लिएको छु ।’

यस्तै सांसद महन्थ ठाकुरले भने सांसदहरूको काम विकास, निर्माण नभएकाले सो प्रश्न सोधेर हैरान पार्ने काम नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले सांसदको रुपमा आफूले पाएको जिम्मेवारी इमानका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद ठाकुरले भने, ‘माननीयहरुको जिम्मेवारी डेभलप्मेन्ट (विकास) जिम्मेवारी होइन । अनि तपाई पत्रकारहरु त्यहाँ गएर हामीसँग सोध्नुहुन्छ कि के गर्नुभएको छ ?’

राष्ट्रिय सभामा हाल १८ जना सांसदहरु निर्वाचित भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *