मुगुमा राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित

No ads found for this position
No ads found for this position

मुगु । प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय गरेको छ ।

निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा शङ्कास्पद वस्तु (बम) फेला परेपछि मतदान प्रक्रियामा केही समय अवरोध सिर्जना भएको थियो ।

खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको नेपाली सेनाको टोलीले ती बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) पारेको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

बम भेटिएपछि सोरु क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ । स्थानीय बासिन्दा धर्मराज शाहीका अनुसार बम विष्फोटको डरले गर्दा मतदान केन्द्रमा मतदाताहरूको उपस्थिति निकै न्यून देखिएको छ ।

‘बिहानैदेखि बमको खबरले गाउँलेहरू डराएका छन्, जसका कारण मतदान केन्द्रमा न्यून संख्यामा उपस्थिति देखिएको छ,’ शाहीले जानकारी दिंदै भने ।

उक्त क्षेत्रका अन्य केही स्थानहरूमा पनि शङ्कास्पद वस्तु राखिएको हुनसक्ने अपुष्ट खबरहरू आएपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुले सुरक्षा व्यवस्था कडा पारिएको र निर्धक्क भएर मतदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *