मौन अवधिमा के-के गर्न पाइँदैन ?

No ads found for this position
No ads found for this position

काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।

यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

कुनै पनि तरिकाबाट मत माग्न नपाउने

निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

सामाजिक सञ्जालमा कडाइ

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।

निर्वाचन प्रचारप्रसारमा रोक

निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

भोज भतेर, हुलहुज्जत गर्न नहुने

बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ञ्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

मतदानमा बाधा पुर्याउन नहुने

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।

प्रचारप्रसार सामग्री हटाउनु पर्ने

मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।

विज्ञापन हटाउनु पर्ने

राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

मतदान केन्द्रमा शान्ति कायम राख्नु पर्ने

मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *