सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन् ।
शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे ।
उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ । म फेरी पनि स्पष्ट पार्न चाहन्छु । पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो । संरचना जल्नुहुँदैनथ्यो, तर गोली ठोकेर मान्छे मार्न हुँदैनथ्यो त्यहीबाट कुरा बिग्रियो । जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार । त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन ।’
त्यस्तै उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि प्रमाण दिन नसकेको बताए । सुशासनको नयाँ रेकर्ड कायम गरी रास्वपाले अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लिएर जाने दाबी उनले गरे । अन्तराष्ट्रिय सम्बन्धलाई र साझेदारलाई मागि खाने भाँडो नभई गरिखाने अवस्था सृजना गर्ने उनको भनाई छ ।
उनले भने,‘ममाथि प्रमाण छ भनेको आज ६सय ५८ औं दिन भएछ । मेरो अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । मैले त्यसको जवाफ दिएको थिएन । म आज चितवनबाट भन्छु मेरो अन्तिम इच्छा के हो फागुन २१ मा मतपत्रमा देखाइदिनु होला । जुन घट्नाले आज देश यो परिस्थितिमा आइपुग्यो । त्यो दुखद् घट्नालाई सुखद् गन्तव्यमा लिएर जानुपर्ने छ । हामीसँग कोही त्रसित हुनुपर्देन । सुशासनको नयाँ रेकर्ड हामी कायम गर्छौं । अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लिएर जान्छौं । अन्तराष्ट्रिय सम्बन्धलाई र साझेदारलाई मागि खाने भाँडो होईन । गरिखाने अवस्था सृजना गर्छौं । हामी मागेर देश बनाउँदैनौं ।’
उनले राजनीतिक आस्था नत्यागेपनि यसपटक परिवर्तनका पक्षमा मत दिन अपिल गर्दै भने,‘इतिहासले मागेको कुरा नेतृत्वले दिन सकेन भने त्यो देश असफल हुन्छ । हामी यस्तो अवस्थामा छौं । अब हामीले असफल बनाउने छुट नै छैन । जो जहाँ राजनीतिक दलमा हुनुहुन्छ । त्यो राजनीतिक दलको आस्था त्याग्न पर्छ भनेकै छैन । मात्र घण्टीमा यसपटक भोट परिवर्तनको लागि किनकी ३० वर्षभन्दा मुनीका यति धेरै युवा उम्मेदवार बनेर इतिहासमा कहिल्यै आएका थिएनन् । युवा,महिला,जेनजी, जनजाति, थारु ,सहीद र घाईते भए भरका पेसाकर्मीको पार्टी रास्वपा हो ।’


