घरदैलो कार्यक्रममा नागरिकले आँसु झारेपछि ‘अवाक’ बने विष्णु पौडेल

No ads found for this position
No ads found for this position

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समूहका युवादेखि पाका पुस्ताले समेत फूल मालाले स्वागत गर्दै आर्सीवाद दिएका छन् ।

घरदैलो अभियान अन्तरगत बिहीबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर -९ मा भएको भेटघाटमा जेनजी युवाहरूले पौडेललाई फूल मालाले स्वागत गरे भने ज्येष्ठ नागरिकहरू उनलाई अँगालो मारेर आर्सीवाद दिन पुगे ।

पौडेललाई आशीर्वाद दिँदा उनीहरूको आँखामा आँसु छल्किएपछि स्वयम् उम्मेदवार पौडेल नै अवाक भएका थिए । यसै गरी बुटवल–९ को कालिका पथ अन्तरगत रहेका दर्जनौँ स्थानबाट टीका, माला र खादा लिएर पौडेलको पर्खाइएमा रहेका भिडहरूमा जेनजी युवाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीको नेतृत्वमा बिहीबार आयोजित घरदैलोमा सयौँको सङ्ख्यामा एमाले कार्यकर्ता तथा शुभचिन्तकहरू सडकमा ओर्लिएका थिए । उम्मेदवार पौडेललाई स्वागत गर्न प्रायजसो घर–घरबाट मतदाताहरू निस्किएर उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

घरदैलो कार्यक्रम अन्तरगत आयोजित छोटो कोणसभामा सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलको कालिका पथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्नका लागि आवश्यक भौतिक पूर्वाधार विकास गरिने प्रतिबद्धता गरे ।

‘बुटवलको कालिका पथलाई दिन र रात एकै हुने गरी उज्यालो सहरको रूपमा विकास गर्नुपर्नेछ । त्यसका लागि आवश्यक सडक बत्ती जडान, सुरक्षा व्यवस्था तथा आवश्यक सम्पूर्ण व्यवस्था गरिनेछ,’ पौडेलले भने । बुटवललाई पर्यटकीय सहरको रूपमा नमुना बनाउने गरी योजना अघि बढाइने छ ।

यसै गरी पौडेलले बुटवल र समग्र रुपन्देहीको विकासका लागि आवश्यक योजनाहरू अघि बढी रहेको बताउँदै आफ्नोतर्फबाट गर्न बाँकी केही भएमा सुझाव प्रस्तुत गर्न वा लेखेर दिन मतदाताहरूलाई आग्रह गरे ।

बुटवलको विकास लागि तिनाउ नदीको व्यवस्थापन गरी पर्यटनको क्षेत्रमा विकास गरिने उनले बताए । ‘तिनाउ नदीको कटान रोक्नका लागि चेकवाल निर्माणको काम भइरहेको छ । अब यो नदीलाई अभिसाप होइन परदान हो भन्ने मानक स्थापित गर्ने गरी विकासको काम अघि बढ्छ’, पौडेलले भने । निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेप्रति मतदाताको आकर्षण बढ्दै गएको नेताहरूको दाबी छ ।

एमाले रुपन्देही क्षेत्र नम्बर–२ को निर्वाचन परिचालन कमिटीका सह–संयोजक तथा युवा परिचालन कमिटीका संयोजक राजु गुरुङले जित निश्चित भएको दाबी गरे । जनताको सात र उत्साहले पनि उक्त कुरालाई सङ्केत गरेको उनको दाबी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *