मतदानका दिन सवारीसाधन चलाउन नपाइने, निर्वाचन प्रचारप्रसार १८ गते रातिदेखि निषेध

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय गरेको छ। यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने आयोगको निर्णयमा भनिएको छ। साथै कहीँ कतै यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउनुपर्ने निर्णय आयोगले गरेको छ।

मतदान दिन सवारीसाधन चलाउन नपाइने

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन)हरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू २०८२ साल फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउनू आयोगले भनेको छ ।

यसैगरी मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले स्पष्ट पारेको छ ।

मादक पदार्थ बिक्रीवितरणमा रोक

आयोगले मतदानको मितिभन्दा सात दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा मादक पदार्थ सेवन गरेर हल्ला गर्ने, राजनीतिक दल तथा उम्मेदवारले मादक पदार्थ सेवन गर्न लगाएर मतदातालाई प्रभावित पार्नेलगायतका सम्भावित गतिविधिलाई रोक्न आयोगले यस्तो निर्णय गरेको हो। आफ्नो निर्णय अनुसार आवश्यक सहजीकरण र समन्वयका लागि आयोगले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट यी निर्णय गरिएको हो।निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो नर्णय गरिएको हो।

यसैबिच निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायत सेवा उपलब्ध गराउन अनुरोध गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *