सुनसरीमा सुरक्षा चुनौती : भारतसँग सीमा जोडिएका ५९ मतदान स्थल अति संवेदनशील
सुनसरी। भारतसँग सीमा जोडिने सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचिमा परेका छन् । सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचिमा रहेका हुन् ।
जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसाबले अति संवेदनशील ठानिएको छ ।
सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसाबमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यसै गरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा ९ को ४ वटा मतदान स्थल र धरान ५ को हिमाली मा.वि.देउराली मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।
सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसाबले विशेष गरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतीका रूपमा हेरेको छ । सोहीअनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नाकाबाट हुने आवतजावत लक्षित गरी दुई तर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ । नाकाबाट हुनसक्ने शङ्कास्पद गतिविधि र आपराधिक प्रवृत्ति भएकाहरूबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सर्तकर्ता बढाइएको प्रशासनले जनाएको छ ।
धार्मिक सद्भाव कायम राखी रहने, अवाञ्छित कार्य हुन नदिने जस्ता कुरालाई ध्यानमा राखी सुनसरीमा प्रशासनले निरन्तर रूपमा सर्वपक्षीय र सर्वदलीय बैठक समेतको आयोजना गरिरहेको छ । विशेष गरी जेनजी मुभमेन्ट र पुराना दलबिच देखा पर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोवस्तीमा जोड दिइएको प्रशासनले जनाएको छ ।
समग्र जिल्लाको शान्ति सुरक्षा कालागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार मत खसाल्न योग्य जिल्लाको कुल मतदाता सङ्ख्या ५ लाख ८० हजार ९ सय ४५ रहेको छ ।


