म भीरमा हाम फाल्दै हिँड्ने मान्छे हुँ, श्रीमतीको कमाइ खानुमा गर्व छ: ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरूले देशलाई कमजोर पारेको बताएका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताए । आफ्नो राजनीतिक जीवनका कठिन सङ्घर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे उनले चर्चा गरे ।

पार्टी निर्माण र फुटको पीडा

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको सङ्घर्ष गरेको बताए । ‘सानो ठाउँबाट निर्माण सुरु गरेर नेकपा एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाइ हैसियतको शक्ति बनाइयो ।’ उनले भने, ‘तर त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे ।’

उनले सही कामका लागि गरिएको सङ्घर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको दाबी गरे ।

‘म बाटो बनाउने मान्छे हुँ’

आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै ओलीले आफू बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे भएको बताए। उनले आफूले जीवनभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने मानिस भएको बताए ।

‘म भीरपखेरामा हाम फाल्दै बाटो बनाउने मान्छे हुँ । जसले बाटो बनाउँछ, ऊ पहिले अप्ठ्यारोमा जान्छ, ब्लास्टिङ गर्छ र ट्र्याक खोल्छ ।’ उनले भने, ‘मैले जिन्दगीभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने काम गरेको छु ।’

भूमिगत काल र जेल जीवनको सङ्घर्ष

ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताए । १४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र त्यस क्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उनले भावुक हुँदै स्मरण गरे । पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनको भनाइ थियो ।

पारदर्शिता र सामाजिक न्याय

आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताए । उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्त्व धेरै रहेको बताए ।

‘मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ ।’ उनले भने ।

यसलाई उनले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे।

युवाहरूलाई सन्देश: ‘समय खेर नफाल्नुस्’

राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिए । ‘समयका डटहरूको जोडाइ नै जिन्दगी हो । समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो ।’ उनले भने ।

उनले देशको घट्दो जनसङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै युवाहरूलाई समयमै विवाह गर्न र सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न आग्रह गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *