नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमा पार्टीले देश जटिल र संवेदनशील अवस्थाबाट निर्णायक निर्वाचन प्रक्रियातर्फ अघि बढिरहेको उल्लेख गर्दै तोकिएको समयमै निर्वाचन हुनुपर्ने आफ्नो अडान वस्तुगत परिस्थितिमा आधारित र सही सावित भएको दाबी गरेको छ । युवापुस्ताको आन्दोलनपछिको अवस्थालाई सामान्य बनाउन पार्टीले इमानदार र निरन्तर प्रयास गरिरहेको पनि जनाएको छ ।

पार्टीले आफ्नो संघर्षपूर्ण इतिहास, स्पष्ट विचार र भावी कार्ययोजनाका आधारमा जनविश्वास बढ्दै गएको दाबी गर्दै संविधान जारीपछिका शासकीय सुधार, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनालगायतका एजेन्डा आफूहरूले निरन्तर उठाउँदै आएको उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको टिप्पणी गरिएको छ । एकातर्फ कुशासनको संरक्षण गर्दै शान्तिपूर्ण आन्दोलन दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्र र राष्ट्रिय स्थायित्वका लागि हानिकारक रहेको पार्टीको धारणा छ ।

निहत्था नागरिक र सुरक्षाकर्मीमाथि हुने हिंसात्मक गतिविधिको पार्टीले कडा विरोध जनाएको छ ।निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधिप्रति ध्यानाकर्षण गराउँदै पार्टीले केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएको आरोप लगाएको छ ।

पत्रकारिताको मूल्य–मान्यता र निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै नेपाल प्रेस काउन्सिललाई समेत निष्पक्ष अनुगमन गर्न अपिल गरिएको छ । त्यसैगरी, निर्वाचन आयोगलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीले आग्रह गरेको छ । आयोगमाथि उठेका प्रश्नप्रति गम्भीर हुँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न र जनविश्वास कायम राख्न आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

पार्टीले आफ्ना प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको उल्लेख गर्दै मतदातालाई सबै दलको विचार, भूमिका र एजेन्डाको गहिरो मूल्याङ्कन गरी विवेकपूर्ण निर्णय गर्न आग्रह गरेको छ । साथै, सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई उच्चतम जिम्मेवारीका साथ स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न आह्वान गरिएको छ ।

पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान संकटबाट देशलाई निकास दिन राष्ट्रिय एकता, स्वाधीनता र लोकतान्त्रिक मूल्यको रक्षा आवश्यक रहेको बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *