चितवन–२ मा रवि लामिछानेलाई टक्कर दिँदै कांग्रेसकी मीना खरेल
चितवन–२ को चुनावी प्रतिस्पर्धा केवल दुई उम्मेदवार बिचको सामान्य राजनीतिक भिडन्त मात्र होइन यो नेपालको वर्तमान राजनीतिक परिवर्तनको प्रतिस्पर्धा पनि हो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट पार्टी सभापति रवि लामिछाने र नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै मीना खरेल मैदानमा उत्रिएका छन् ।
चितवनमा लामिछाने र खरेल बिच राम्रै भिडन्त हुने देखिएको छ । उनीहरूको यो भिडन्त व्यक्तित्व, विचार, सङ्गठन, विश्वसनीयता र राजनीतिक भविष्यको दिशा–निर्देशनबीचको टकराब पनि हो । त्यसैले यस क्षेत्रमा कसले जित्छ ? भन्ने प्रश्नमा बाँधेर हेर्न मिल्दैन । बरु कुन राजनीतिक धारालाई मतदाताले प्राथमिकता दिन्छन् ? भन्ने कुरामा भर पर्नु पर्छ ।
रवि लामिछानेको उदय नै परम्परागत राजनीतिक संरचनाप्रति जनतामा बढ्दो असन्तुष्टिको परिणाम थियो । सञ्चार क्षेत्रबाट आएको लोकप्रियता, तीक्ष्ण भाषण शैली र स्थापित दलहरूमाथि निरन्तर प्रहार गर्ने शैलीले उनलाई एक प्रकारको विद्रोही छवि दिएको छ । चितवन–२ बाट अघिल्लो निर्वाचनमा उल्लेखनीय मतान्तरसहित विजयी हुँदा उनले आफूलाई केवल उम्मेदवार नभई एउटा राजनीतिक प्रवृत्तिको प्रतिनिधि बनाए । तर लोकप्रियताको लहरमा जित्नु र स्थायित्वसहित जनविश्वास कायम राख्नु दुई फरक कुरा हुन् । अहिलेको चुनावले त्यही परीक्षा लिने छ ।
लामिछानेले परम्परागत दलहरूलाई ‘असफल, भ्रष्ट र जन विमुख’ भन्दै आलोचना गरेका छन् । युवाहरू, पहिलो पटक मतदान गर्न लागेका मतदाता, तथा परम्परागत दलप्रति निराश वर्गमा उनको अपिल अझै देखिन्छ । तर प्रश्न उठ्न थालेको छ—के केवल भाषण र आक्रोश पर्याप्त हुन्छ ? अघिल्लो कार्यकालमा उनले चितवन–२ का जनताको जीवनमा कस्तो ठोस परिवर्तन ल्याए ? विकास, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता मुद्दामा कति उपलब्धि देखिए ? लोकप्रिय नाराले चुनाव जित्न सकिएला, तर उपलब्धिको हिसाब–किताब माग्न थालेपछि राजनीतिक बहस फरक दिशातर्फ मोडिन्छ ?
अर्कोतर्फ मीना खरेल परम्परागत दल नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएकी छन् । कांग्रेसलाई लामो समयदेखि “पुरानो, जड र ढिलो प्रतिक्रिया दिने दल” भनेर आलोचना गरिन्छ । तर यही दलसँग देशभर फैलिएको सङ्गठन, वडा–टोलसम्मको सञ्जाल र ऐतिहासिक लोकतान्त्रिक विरासत पनि छ । खरेलले यही संरचनात्मक बललाई आफ्नो पक्षमा प्रयोग गर्न खोजेकी छन् । सामाजिक क्षेत्रमा उनको सक्रियता, महिलासँगको सम्बन्ध, स्थानीय तहमा गरेको कामले उनलाई केवल पार्टी उम्मेदवार होइन, समुदायसँग जोडिएको पात्रका रूपमा प्रस्तुत गरेको छ ।
यो चुनावमा विचार धारात्मक द्वन्द्व पनि स्पष्ट छ । लामिछाने परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको कुरा गर्छन् । तर विरोधीहरूले प्रश्न उठाउने गरेका छन्— के उनको पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ छ ? निर्णय प्रक्रियामा पारदर्शिता कत्तिको छ ? नेतृत्व अत्यधिक व्यक्ति केन्द्रित त छैन ? यदि परिवर्तनको नाममा फेरि अर्को केन्द्रीकृत संरचना खडा हुन्छ भने त्यसले कति फरक पार्छ ? यस्ता प्रश्न चुनावी मैदानमा गम्भीर रूपमा उठिरहेका छन् ।
मीना खरेलको पक्षमा अर्को बलियो पक्ष भनेको महिला मतदाता हुन् । चितवन–२ मा महिला मतदाताको सङ्ख्या उल्लेखनीय छ । महिलाका मुद्दा, सुरक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण, शिक्षालाई प्राथमिकतामा राख्दै खरेलले आफूलाई संवेदनशील र नजिकको उम्मेदवारका रूपमा प्रस्तुत गरेकी छन् । यो रणनीति प्रभावकारी हुन सक्छ, विशेष गरी यदि मतदाता केवल आक्रोश होइन, स्थायित्व र व्यवहारिक कार्यक्रम खोजिरहेका छन् ।
तर कांग्रेसको लागि चुनौती कम छैन । लामिछानेले अघिल्लो निर्वाचनमा बनाएको लहरले परम्परागत मतमा धक्का दिएको थियो । यदि कांग्रेसले आफ्नो मतदातालाई पूर्ण रूपमा एकीकृत राख्न सकेन भने खरेललाई कठिन हुनेछ । सङ्गठनात्मक संरचना भए पनि उत्साह, ऊर्जा र स्पष्ट सन्देश नहुँदा त्यो संरचना निष्क्रिय हुन सक्छ । त्यसैले खरेलको अभियान केवल सङ्गठनमा निर्भर छैन । उनले मतदातालाई पुनः विश्वास दिलाउनुपर्ने चुनौती छ । कांग्रेसले विगतका कमजोरीबाट पाठ सिक्ने अवसर पनि हो यो ।
लामिछानेको चुनावी रणनीति सामान्यतया तीव्र, आक्रामक र भावनात्मक हुन्छ । उनले आफूलाई “व्यवस्थाविरुद्धको आवाज”का रूपमा चित्रित गरेका छन् । तर यही आक्रामकता कहिलेकाहीँ उल्टो असर पनि पार्न सक्छ । राजनीति केवल प्रहारको खेल होइन । समाधानको प्रस्ताव पनि आवश्यक हुन्छ । मतदाताले अब प्रश्न गर्न थालेका छन् —’तपाईंले अरूलाई आलोचना गर्नुभयो, तर आफ्नै विकल्प के हो?’ यदि यो प्रश्नको सन्तोषजनक उत्तर आएन भने जनतामा आक्रोश बढ्दै जाने देखिन्छ ।
चितवन–२ को चुनावले अर्को महत्त्वपूर्ण सङ्केत दिन्छ । व्यक्तिगत लोकप्रियता कि सङ्गठनात्मक स्थायित्व । लामिछानेको शक्ति उनको व्यक्तित्व हो भने खरेलको शक्ति सङ्गठन र संरचना । यदि चुनाव व्यक्तित्व केन्द्रित भयो भने लामिछाने बलियो देखिन्छन् । यदि चुनाव मुद्दा केन्द्रित र सङ्गठनमा आधारित भयो भने खरेलको सम्भावना बढ्छ । यसैले दुवै पक्षले आफ्नो अनुकूल फ्रेम निर्माण गर्न खोजिरहेका छन् ।
यस प्रतिस्पर्धामा युवा मतदाताको भूमिका निर्णायक हुन सक्छ । युवा पुस्ता परम्परागत दलप्रति निराश देखिन्छन् । तर, उनीहरू परिणाममुखी छन् । केवल भाषणले होइन, अवसर सिर्जनाले उनीहरू प्रभावित हुन्छन् । रोजगारी, उद्यमशीलता, प्रविधि, शिक्षा जस्ता विषयमा स्पष्ट योजना कसले दिन्छ ? यदि लामिछानेले आफ्नो “नयाँ राजनीति” लाई व्यवहारिक योजनासँग जोड्न सके भने उनी बलियो रहन्छन् । यदि त्यो असफल भयो भने युवामाझ उनको लोकप्रियता घट्नेछ ।
अर्कोतर्फ स्थायित्व र अनुभवको मुद्दा पनि उस्तै महत्त्वपूर्ण छ । राजनीतिक अस्थिरता, सरकार परिवर्तन, नीतिगत अन्योलका कारण देश थकित छ । यस्तो अवस्थामा केही मतदाता “जोसभन्दा होस” रोज्न सक्छन् । खरेलले यही भावनालाई समात्ने प्रयास गरिरहेकी छन् । उनले स्थिर नेतृत्व, समन्वय र संस्थागत मजबुतको कुरा गरेर । लामिछानेमाथि सहकारीको रकम हिनामिना गरेको आरोप छ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर ग्यालेक्सी टेलिभिजन चलाएको भन्दै उनिविरुद्ध विभिन्न ठाउँमा उजुरी पर्दै आएका छन् र यही केसमा उनी पटक–पटक पक्राउ पनि परेका छन् । लामिछानेलाई कांग्रेसले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा पनि उनीमाथि प्रस्न उठाउँदै आएको छ । सहकारीका सञ्चालक जिबी राई भने अझै फरार छन् । लामिछानेले चितवन बाट चुनाव जितेर गृहमन्त्री हुँदा राईलाई पक्राउ नगर्नु पनि रहस्यमय विषय बनेको छ । लामिछानेका यस्ता कमजोरलाई जनतामा देखाएर कांग्रेस चुनावी मैदानमा छ ।
यो चुनावी मैदानमा आरोप–प्रत्यारोप स्वाभाविक छन् । लामिछानेले परम्परागत दललाई भ्रष्टाचार र असक्षमताको आरोप लगाउँदै आएका छन् भने कांग्रेसले लामिछानेलाई अनुभवहीनता र लोकप्रियतामाथि निर्भर राजनीतिलाई प्रश्न गर्छ । आक्रामकता दुवैतर्फ देखिन्छ । तर अन्ततः निर्णायक शक्ति मतदाता नै हुन् । उनीहरूले भावनात्मक अपिलभन्दा तथ्य र विश्वसनीयता कत्तिको तौलिन्छन्, त्यसले परिणाम निर्धारण गर्नेछ ।
चितवन–२ को परिणामले राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिनेछ । यदि लामिछाने पुनः स्पष्ट मतान्तरले विजयी भए भने नयाँ राजनीतिक शक्तिको स्थायित्व पुष्टि हुनेछ । यदि प्रतिस्पर्धा कडा भयो वा परिणाम उल्टियो भने त्यो परम्परागत दलको पुनरुत्थानको सङ्केत हुन सक्छ । त्यसैले यो क्षेत्र राष्ट्रिय ध्यानको केन्द्रमा चर्चित बनेको छ ।
समग्रमा, चितवन–२ को चुनाव विचार, व्यक्तित्व र रणनीतिक क्षमताको कठोर परीक्षा हो । यो केवल दुई उम्मेदवार बिचको प्रतिस्पर्धा होइन । यो मतदाताको धैर्य, आशा र अपेक्षाको परीक्षण पनि हो । परिवर्तनको नाराले स्थायित्व पाउँछ कि अनुभवको राजनीतिले पुनः विश्वास जित्छ— यसको जवाफ मतपेटिकाले दिनेछ । तर जे परिणाम आए पनि यो प्रतिस्पर्धाले नेपाली राजनीतिमा बहसको स्तरलाई तीक्ष्ण बनाएको छ र यही लोकतन्त्रको सार पनि हो ।



