चितवन–२ मा रवि लामिछानेलाई टक्कर दिँदै कांग्रेसकी मीना खरेल

No ads found for this position
No ads found for this position

चितवन–२ को चुनावी प्रतिस्पर्धा केवल दुई उम्मेदवार बिचको सामान्य राजनीतिक भिडन्त मात्र होइन यो नेपालको वर्तमान राजनीतिक परिवर्तनको प्रतिस्पर्धा पनि हो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट पार्टी सभापति रवि लामिछाने र नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै मीना खरेल मैदानमा उत्रिएका छन् ।

चितवनमा लामिछाने र खरेल बिच राम्रै भिडन्त हुने देखिएको छ । उनीहरूको यो भिडन्त व्यक्तित्व, विचार, सङ्गठन, विश्वसनीयता र राजनीतिक भविष्यको दिशा–निर्देशनबीचको टकराब पनि हो । त्यसैले यस क्षेत्रमा कसले जित्छ ? भन्ने प्रश्नमा बाँधेर हेर्न मिल्दैन । बरु कुन राजनीतिक धारालाई मतदाताले प्राथमिकता दिन्छन् ? भन्ने कुरामा भर पर्नु पर्छ ।

रवि लामिछानेको उदय नै परम्परागत राजनीतिक संरचनाप्रति जनतामा बढ्दो असन्तुष्टिको परिणाम थियो ।  सञ्चार क्षेत्रबाट आएको लोकप्रियता, तीक्ष्ण भाषण शैली र स्थापित दलहरूमाथि निरन्तर प्रहार गर्ने शैलीले उनलाई एक प्रकारको विद्रोही छवि दिएको छ । चितवन–२ बाट अघिल्लो निर्वाचनमा उल्लेखनीय मतान्तरसहित विजयी हुँदा उनले आफूलाई केवल उम्मेदवार नभई एउटा राजनीतिक प्रवृत्तिको प्रतिनिधि बनाए । तर लोकप्रियताको लहरमा जित्नु र स्थायित्वसहित जनविश्वास कायम राख्नु दुई फरक कुरा हुन् । अहिलेको चुनावले त्यही परीक्षा लिने छ ।

लामिछानेले परम्परागत दलहरूलाई ‘असफल, भ्रष्ट र जन विमुख’ भन्दै आलोचना गरेका छन् । युवाहरू, पहिलो पटक मतदान गर्न लागेका मतदाता, तथा परम्परागत दलप्रति निराश वर्गमा उनको अपिल अझै देखिन्छ । तर प्रश्न उठ्न थालेको छ—के केवल भाषण र आक्रोश पर्याप्त हुन्छ ? अघिल्लो कार्यकालमा उनले चितवन–२ का जनताको जीवनमा कस्तो ठोस परिवर्तन ल्याए ? विकास, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता मुद्दामा कति उपलब्धि देखिए ? लोकप्रिय नाराले चुनाव जित्न सकिएला, तर उपलब्धिको हिसाब–किताब माग्न थालेपछि राजनीतिक बहस फरक दिशातर्फ मोडिन्छ ?

अर्कोतर्फ मीना खरेल परम्परागत दल नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएकी छन् । कांग्रेसलाई लामो समयदेखि “पुरानो, जड र ढिलो प्रतिक्रिया दिने दल” भनेर आलोचना गरिन्छ । तर यही दलसँग देशभर फैलिएको सङ्गठन, वडा–टोलसम्मको सञ्जाल र ऐतिहासिक लोकतान्त्रिक विरासत पनि छ । खरेलले यही संरचनात्मक बललाई आफ्नो पक्षमा प्रयोग गर्न खोजेकी छन् । सामाजिक क्षेत्रमा उनको सक्रियता, महिलासँगको सम्बन्ध, स्थानीय तहमा गरेको कामले उनलाई केवल पार्टी उम्मेदवार होइन, समुदायसँग जोडिएको पात्रका रूपमा प्रस्तुत गरेको छ ।

यो चुनावमा विचार धारात्मक द्वन्द्व पनि स्पष्ट छ । लामिछाने परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको कुरा गर्छन् । तर विरोधीहरूले प्रश्न उठाउने गरेका छन्— के उनको पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ छ ? निर्णय प्रक्रियामा पारदर्शिता कत्तिको छ ? नेतृत्व अत्यधिक व्यक्ति केन्द्रित त छैन ? यदि परिवर्तनको नाममा फेरि अर्को केन्द्रीकृत संरचना खडा हुन्छ भने त्यसले कति फरक पार्छ ? यस्ता प्रश्न चुनावी मैदानमा गम्भीर रूपमा उठिरहेका छन् ।

मीना खरेलको पक्षमा अर्को बलियो पक्ष भनेको महिला मतदाता हुन् । चितवन–२ मा महिला मतदाताको सङ्ख्या उल्लेखनीय छ । महिलाका मुद्दा, सुरक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण, शिक्षालाई प्राथमिकतामा राख्दै खरेलले आफूलाई संवेदनशील र नजिकको उम्मेदवारका रूपमा प्रस्तुत गरेकी छन् । यो रणनीति प्रभावकारी हुन सक्छ, विशेष गरी यदि मतदाता केवल आक्रोश होइन, स्थायित्व र व्यवहारिक कार्यक्रम खोजिरहेका छन् ।

तर कांग्रेसको लागि चुनौती कम छैन । लामिछानेले अघिल्लो निर्वाचनमा बनाएको लहरले परम्परागत मतमा धक्का दिएको थियो । यदि कांग्रेसले आफ्नो मतदातालाई पूर्ण रूपमा एकीकृत राख्न सकेन भने खरेललाई कठिन हुनेछ । सङ्गठनात्मक संरचना भए पनि उत्साह, ऊर्जा र स्पष्ट सन्देश नहुँदा त्यो संरचना निष्क्रिय हुन सक्छ । त्यसैले खरेलको अभियान केवल सङ्गठनमा निर्भर छैन । उनले मतदातालाई पुनः विश्वास दिलाउनुपर्ने चुनौती छ । कांग्रेसले विगतका कमजोरीबाट पाठ सिक्ने अवसर पनि हो यो ।

लामिछानेको चुनावी रणनीति सामान्यतया तीव्र, आक्रामक र भावनात्मक हुन्छ । उनले आफूलाई “व्यवस्थाविरुद्धको आवाज”का रूपमा चित्रित गरेका छन् । तर यही आक्रामकता कहिलेकाहीँ उल्टो असर पनि पार्न सक्छ । राजनीति केवल प्रहारको खेल होइन । समाधानको प्रस्ताव पनि आवश्यक हुन्छ । मतदाताले अब प्रश्न गर्न थालेका छन् —’तपाईंले अरूलाई आलोचना गर्नुभयो, तर आफ्नै विकल्प के हो?’ यदि यो प्रश्नको सन्तोषजनक उत्तर आएन भने जनतामा आक्रोश बढ्दै जाने देखिन्छ ।

चितवन–२ को चुनावले अर्को महत्त्वपूर्ण सङ्केत दिन्छ । व्यक्तिगत लोकप्रियता कि सङ्गठनात्मक स्थायित्व । लामिछानेको शक्ति उनको व्यक्तित्व हो भने खरेलको शक्ति सङ्गठन र संरचना । यदि चुनाव व्यक्तित्व केन्द्रित भयो भने लामिछाने बलियो देखिन्छन् । यदि चुनाव मुद्दा केन्द्रित र सङ्गठनमा आधारित भयो भने खरेलको सम्भावना बढ्छ । यसैले दुवै पक्षले आफ्नो अनुकूल फ्रेम निर्माण गर्न खोजिरहेका छन् ।

यस प्रतिस्पर्धामा युवा मतदाताको भूमिका निर्णायक हुन सक्छ । युवा पुस्ता परम्परागत दलप्रति निराश देखिन्छन् । तर, उनीहरू परिणाममुखी छन् । केवल भाषणले होइन, अवसर सिर्जनाले उनीहरू प्रभावित हुन्छन् । रोजगारी, उद्यमशीलता, प्रविधि, शिक्षा जस्ता विषयमा स्पष्ट योजना कसले दिन्छ ? यदि लामिछानेले आफ्नो “नयाँ राजनीति” लाई व्यवहारिक योजनासँग जोड्न सके भने उनी बलियो रहन्छन् । यदि त्यो असफल भयो भने युवामाझ उनको लोकप्रियता घट्नेछ ।

अर्कोतर्फ स्थायित्व र अनुभवको मुद्दा पनि उस्तै महत्त्वपूर्ण छ । राजनीतिक अस्थिरता, सरकार परिवर्तन, नीतिगत अन्योलका कारण देश थकित छ । यस्तो अवस्थामा केही मतदाता “जोसभन्दा होस” रोज्न सक्छन् । खरेलले यही भावनालाई समात्ने प्रयास गरिरहेकी छन् । उनले स्थिर नेतृत्व, समन्वय र संस्थागत मजबुतको कुरा गरेर । लामिछानेमाथि सहकारीको रकम हिनामिना गरेको आरोप छ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर ग्यालेक्सी टेलिभिजन चलाएको भन्दै उनिविरुद्ध विभिन्न ठाउँमा उजुरी पर्दै आएका छन् र यही केसमा उनी पटक–पटक पक्राउ पनि परेका छन् । लामिछानेलाई कांग्रेसले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा पनि उनीमाथि प्रस्न उठाउँदै आएको छ । सहकारीका सञ्चालक जिबी राई भने अझै फरार छन् । लामिछानेले चितवन बाट चुनाव जितेर गृहमन्त्री हुँदा राईलाई पक्राउ नगर्नु पनि रहस्यमय विषय बनेको छ । लामिछानेका यस्ता कमजोरलाई जनतामा देखाएर कांग्रेस चुनावी मैदानमा छ ।

यो चुनावी मैदानमा आरोप–प्रत्यारोप स्वाभाविक छन् । लामिछानेले परम्परागत दललाई भ्रष्टाचार र असक्षमताको आरोप लगाउँदै आएका छन् भने कांग्रेसले लामिछानेलाई अनुभवहीनता र लोकप्रियतामाथि निर्भर राजनीतिलाई प्रश्न गर्छ । आक्रामकता दुवैतर्फ देखिन्छ । तर अन्ततः निर्णायक शक्ति मतदाता नै हुन् । उनीहरूले भावनात्मक अपिलभन्दा तथ्य र विश्वसनीयता कत्तिको तौलिन्छन्, त्यसले परिणाम निर्धारण गर्नेछ ।

चितवन–२ को परिणामले राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिनेछ । यदि लामिछाने पुनः स्पष्ट मतान्तरले विजयी भए भने नयाँ राजनीतिक शक्तिको स्थायित्व पुष्टि हुनेछ । यदि प्रतिस्पर्धा कडा भयो वा परिणाम उल्टियो भने त्यो परम्परागत दलको पुनरुत्थानको सङ्केत हुन सक्छ । त्यसैले यो क्षेत्र राष्ट्रिय ध्यानको केन्द्रमा चर्चित बनेको छ ।

समग्रमा, चितवन–२ को चुनाव विचार, व्यक्तित्व र रणनीतिक क्षमताको कठोर परीक्षा हो । यो केवल दुई उम्मेदवार बिचको प्रतिस्पर्धा होइन । यो मतदाताको धैर्य, आशा र अपेक्षाको परीक्षण पनि हो । परिवर्तनको नाराले स्थायित्व पाउँछ कि अनुभवको राजनीतिले पुनः विश्वास जित्छ— यसको जवाफ मतपेटिकाले दिनेछ । तर जे परिणाम आए पनि यो प्रतिस्पर्धाले नेपाली राजनीतिमा बहसको स्तरलाई तीक्ष्ण बनाएको छ र यही लोकतन्त्रको सार पनि हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *