मुलुकको शान्ति–सुरक्षाबारे गम्भीर प्रश्न उठ्न थालेको छ : काँग्रेस सांसद रोकाय

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको बताए । नेपाली काँग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताए ।

उनकाअनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उनको भनाई छ ।

प्रहरीमाथि भएको आक्रमण कानूनी शासनमाथिको गम्भीर चुनौतीका रूपमा देखा परेको उनले बताए । कानून कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आए सर्वसाधारण नागरिकको सुरक्षा झन् कमजोर हुने खतरा बढ्ने उनको भनाई छ । माघ २६ गते सिराहा कारागारमा गरिएको सुरक्षा अनुगमन तथा खोजतलासका क्रममा कारागारभित्रै हतियार, एक लाख रुपैयाँ नगद तथा प्रतिबन्धित सामग्री फेला परेको उनले बताए ।

कारागारजस्तो उच्च सुरक्षा संवेदनशील स्थानमै हतियार र नगद फेला पर्नुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उनको भनाई छ । रोकायले सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *